images
images

एक महिनादेखि रोकिएको सुरुङमार्गको काम पुन: सुरु हुने


  • 368
    SHARES
  • २०८० चैत्र ६ गते मंगलबार

    एक महिनादेखि रोकिएको सुरुङमार्गको काम पुन: सुरु हुने

    काठमाडौं । एक महिनादेखि रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका पदाधिकारी, सुरुङमार्ग आयोजनाका पदाधिकारी, सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्षसहितको सोमबार बसेको बैठकले सो सहमति गरेको हो । 

    सहमति भएसँगै मङ्लबारदेखि सुरुङमार्गको काम सुरु हुने सो आयोजनाले जनाएको छ । स्थानीयले अवरोध गरेपछि फागुन ६ गतदेखि सुरुङ निर्माणलगायत आयोजनाको सबै काम रोकिएको थियो । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डमरूका अनुसार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले स्थानीयको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अवरोध नगर्ने सहमति भएको जानकारी दिए।  

    बैठकमा सहभागी सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्ष ताराबहादुर खत्रीले सरकारले आफूहरूको माग सम्बोधन गर्ने भएपछि सुरुङ निर्माणमा कुनै बाधा अवरोध नगर्ने बताए । स्थानीयले आयोजना क्षेत्रलाई समस्याग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने, खानेपानी तथा सिँचाइको पानी व्यवस्था गर्नुपर्ने, स्थानीयलाई रोजगारी व्यवस्था गर्नुपर्ने, क्षतिग्रस्त भएका घरको मर्मत गर्नुपर्नेलगायतका माग छन् ।

    आयोजनाको सुरुङ खन्न मात्र १४ मिटर बाँकी रहेको अवस्थामा स्थानीयले अवरोध गर्दा अहिले कुनै पनि काम अगाडि बढ्न सकेका छैनन् । आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने कार्यक्रम तय गरे पनि रोकिएको थियो । 

    तीस करोड घाटा

    काम रोकिँदा आयोजनालाई ३० करोड रुपैयाँ क्षति भएको आयोजना उपप्रमुख डमरूले जानकारी दिए । उनले भने, “सम्झौता अनुसार काबुबाहिरको प्राकृतिक विपत्बाहेक बन्दहडतालका कारण काम अवरोध भएमा आयोजनाले निर्माण कम्पणीलाई दैनिक एक करोड रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । 

    त्यसै गरी काम रोकिएको समयजति आयोजनाको म्यादसमेत थप्नुपर्ने हुन सक्छ ।” जस अनुसार अब सरकारले आयोजना निर्माण गरिरहेको कम्पनी हाज्मालाई थप ३० करोड रुपैयाँ जरिबाना तिर्नुपर्ने छ । आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपैयाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराइएको छ ।


    images

    Logo