काठमाडौं । राष्ट्रिय गौरवको कर्णाली करिडोर आयोजनाको निर्माणले तीव्रता पाएको छ । ब्लाष्टिङ सामग्रीको अभावका कारण केही समय प्रभावित बनेको सो आयोजनाले सामाग्रीको आयातसँगै पुनः गति लिएको हो ।
सिमिकोटदेखि हिल्सासम्मको ट्रयाक खन्ने योजना अन्तर्गत अहिले च्याछरा चट्टाने भिरमा रहेका चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा अघि बढेको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए । सो भिरमा ट्रयाक खन्ने काम अबको दुई महिनाभित्र ब्रेक थ्रु हुनेछ ।
त्यस्तै, सिमिकोट–सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर करिब एक महिना लगाएर फुटाइसकेको छ । सो कायै सम्पन्न भएसँगै हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्म बाटो खुलिसकेको छ । सो ठाउँमा ट्र्याक्टरसमेत पुगिसकेको आयोजनाले जनाएको छ ।
अब दुल्लीकुनाको भीर फुटाउन बाँकी छ । त्यसका लागि कम्प्रेसर, जेनेरेटर लगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको आयोजनाले जनाएको छ । सो सामान आएसँगै भीर फुटाउने काम शुरु हुनेछ ।
त्यस्तै, खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिर फोडेर एक्साभेटर मेसिन छिर्नसक्ने बनाइएको छ । सो क्षेत्रमा करिब एक किलोमिटरको छारे भिर अत्यन्तै अप्ठ्यारो रहेको निर्माण व्यवसायीहरु बताउँछन् । त्यसलाई छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सकेको अवस्थामा हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र मोटरबाटोसँग जोडिनेछ ।
यो आयोजना निर्माण सकिएपछि सिमिकोटदेखि चिनियाँ नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट यात्रा गर्न सकिन्छ ।


