काठमाडौं । अघिल्लो वर्ष चैतमा लकडाउन घोषणा भएपछि बजारमा अधिक तरलताको समस्या देखियो । कर्जा लगानी गर्ने ठाउँ नपाएर बैंकहरुले निक्षेपको ब्याजदर घटाए । सोही कारण समग्र बजारको ब्याजदर नै घट्न पुग्यो । बचतको ब्याजदर त शुन्यको नजिक समेत पुग्यो । मुद्रास्फीतिलाई समायोजन गर्दा वास्तविक ब्याजदर नकारात्मक अवस्थामा पुग्यो ।
अहिले बैंकहरुले दिने ब्याजदरमा केही सुधार आएको छ । अधिक तरलताको समस्या समाधान भएर समग्र बैंकिङ बजार सहज अवस्थामा पुगेको छ । तर, योबीचमा केही बैंकहरु भने कर्जा लगानी नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
चैत मसान्तमा बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा ५ बैंकको सीसीडी रेसियो ८१ प्रतिशत भन्दा बढी छ । त्यसमध्ये, एनआईी एशिया बैंकको सीसीडी अनुपात ८४.२१ प्रतिशत रहेको देखिन्छ । त्यस्तै, मेगा बैंकको ८३.५४ प्रतिशत, सानिमा बैंक ८२.७९ प्रतिशत, प्राइम बैंकको ८२.१३ प्रतिशत र कुमारी बैंक ८१.२३ प्रतिशत रहेको छ ।
त्यस्तै, थप ५ बैंकको यस्तो अनुपात ८० प्रतिशत भन्दा माथि छ भने बाँकी १३ वटा बैंकको सीसीडी अनुपात भने ७८.३७ प्रतिशत रहेको छ ।
| चैत मसान्तमा वाणिज्य बैंकहरुकाे सीसीडी अनुपात | |
| एनआईसी एशिया बैंक | ८४.२१ |
| मेगा बैंक | ८३.५४ |
| सानिमा बैंक | ८२.७९ |
| प्राइम बैंक | ८२.१३ |
| कुमारी बैंक | ८१.२३ |
| बैंक अफ काठमाण्डु | ८१.१२ |
| एनएमबी बैंक | ८१.०९ |
| नबिल बैंक | ८०.८० |
| माछापुच्छ्रे बैंक | ८०.३९ |
| सिभिल बैंक | ८०.३० |
| कृषि विकास बैंक | ७९.९२ |
| नेपाल इन्भेष्टमेण्ट बैंक | ७९.०५ |
| हिमालयन बैंक | ७८.९९ |
| सनराइज बैंक | ७८.६३ |
| लक्ष्मी बैंक | ७८.५१ |
| सिटिजन्स बैंक | ७८.१३ |
| सिद्धार्थ बैंक | ७८.०१ |
| एनसीसी बैंक | ७७.६८ |
| नेपाल एसबीआई बैंक | ७६.९८ |
| ग्लोबल आईएमई बैंक | ७६.५४ |
| सेञ्चुरी बैंक | ७६.२५ |
| नेपाल बंगलादेश बैंक | ७५.९० |
| स्ट्याण्डर्ड चार्टर्ड बैंक | ७४.६५ |
| प्रभु बैंक | ७४.४२ |
| एभरेष्ट बैंक | ७०.०५ |
| राष्ट्रिय वाणिज्य बैंक | ६८.२३ |
| औसत | ७८.३७ |
निक्षेप पलायनले संकट
कोरोनाभाइरसको दोस्रो महामारीसँगै बैंक तथा वित्तीय संस्थाबाट निक्षेप फिर्ता लैजानेको ह्वात्त्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार उपत्यकामा मात्रै निषेधाज्ञा हुनुभन्दा अघि २५ अर्ब रुपैयाँभन्दा बढीको निक्षेप बैंक तथा वित्तीय संस्थाबाट गएको छ ।
निषेधाज्ञा भएपछि मात्रै बैंकबाट ५ अर्ब रुपैयाँ बैंकहरुबाट पलायन भएको राष्ट्र बैंकले जनाएको छ । अहिले भने निक्षेप संकलन र फिर्ताको अवस्था सन्तुलित अवस्थामा रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन् ।
बजारबाट यति धेरै निक्षेप पलायन हुँदा धेरै सीसीडी अनुपात हुने बैंकहरु थप कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । उच्च सीसीडी अनुपात भएका बैंकहरु सीसीडी अनुपात धेरै भएकै कारण हर्जाना तिर्नुपर्ने अवस्थामा पुगिसकेको राष्ट्र बैंक स्रोत बताउँछ ।
नेपाल बैंकर्स संघमा अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल धेरै सीसीडी रेसियो हुने बैंकहरुको निक्षेप फिर्ता बढ्दा समस्या हुने बताउँछन् । तर, निक्षेप फिर्ताको अनुपातमा निक्षेप संकलनको व्यवस्थापन गर्न सकेको अवस्थामा यसमा समस्या नहुने उनको भनाई छ ।
‘अहिले समग्र बैंकिङ अवस्था सामान्य छ । हामी अहिले पनि ८० भन्दा कम सीसीडी रेसियोको अवस्थामा छौं । यस्तो अनुपात धेरै भएका बैंकहरुलाई समस्या हुनसक्छ । तर बजारमा पर्याप्त निक्षेप भएपछि ती बैंकहरुले निक्षेप तान्नसक्ने सम्भावना रहन्छ ।’
अहिले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अधिकतम ८५ प्रतिशतको सीसीडी रेसियोको सीमा कायम गरेको छ । यसको अर्थ त्योभन्दा धेरै सीसीडी अनुपात भएका बैंकहरुले थप कर्जा लगानी गर्न पाउँदैनन् भने अधिक निक्षेप फिर्ता भएर सीसीडी अनुपात घट्यो भने राष्ट्र बैंकको नियमानुसार हर्जाना तिर्नुपर्छ । केही बैंक त्यस्तो अवस्थामा पुगेको राष्ट्र बैंक स्रोतको दाबी छ ।


