काठमाडौं । नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्स्योरेन्सलाई अन्तरिम लाभांश स्थगन गर्न निर्देशन दिएको छ । प्राधिकरणबाट स्वीकृति नलिकन लाभांश घोषणा गरेको भन्दै उक्त लाभांशलाई प्राधिकरणले स्थगन गर्न लागेको हो ।
सिटिजन लाइफले सोमबार २८।४ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो । तर, प्रक्रिया नमिलेको तथा नअपनाएको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले रोकेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन् । प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र पठाइएको हो । साथै कम्पनीले एकै आर्थिक वर्षमा दुई पटक लाभांश वितरण गर्न नपाउने जनाइएको छ ।
कम्पनीले नेप्से मार्फत लगानीकर्तालाई दिएको जानकारीमा नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने उल्लेख थियो।
हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड ७५ लाख रहेको छ। प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब ५३ करोड पुग्ने थियो ।


