images
images

निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे, बैशाखसम्म पौने ३ लाख पर्यटकले घुमे सौराहा


  • 396
    SHARES
  • २०८१ जेठ ७ गते सोमबार

    निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे, बैशाखसम्म पौने ३ लाख पर्यटकले घुमे सौराहा

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २ लाख ७२ हजार ९ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार १० महिनामा १ लाख ६१ हजार ८ सय २७ नेपालीले भ्रमण गरेका छन् । जसमध्ये सार्क मुलुकका २६ हजार ४ सय ६१ र तेस्रो मुलुकका ८४ हजार ६ सय ५४ जना रहेका छन् ।

    गत आर्थिक बर्षमा २ लाख ९९ हजार ४ सय १२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताए । जसमध्ये तेस्रो देशका ५५ हजार ८ सय ७२ र सार्कका ३७ हजार ९ सय ३५ थिए । नेपालीको सङ्ख्या २ लाख ५ हजार ६ सय ५ थियो ।

    ‘कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो । क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ’, सूचना अधिकारी तिवारीले भने, ‘विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन् ।

    भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन् । महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ । 

     


    images

    Logo