images
images

दुई कम्पनीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा ?


  • 393
    SHARES
  • २०८१ जेठ २७ गते आइतबार

    दुई कम्पनीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा ?

    काठमाडौं । दुई कम्पनीको साधारण सभा आज हुँदैछ । यसरी आज साधारणसभा हुनेमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी रहेका छन् । 

    युनाइटेड मोदी हाइड्रोपावरको सभा काठमाडौंको कालीमाटी व्यैङ्केटमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले यसअघि चैत्र २९ गते बोलाएको सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

    कम्पनीको शेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावर प्रा।लि। द्वारा प्रवर्द्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजी एक अर्ब २३ करोड पाँच लाख रुपैयाँको १ः१ अनुपातमा एक करोड २३ लाख पाँच हजार कित्ता हकप्रद शेयर जारी गर्ने, अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

    सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा ४ जना सञ्चालक नियुक्त गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

    सभा प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा चैत ६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

    त्यस्तै, पाँचथर पावरको सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहानको ११ बजेदेखि शुरू हुनेछ । वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक प्रतिवेदन, आय व्यय विवरण र वासलात माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले एक्सेस इन्भेष्टमेन्ट प्रा।लि। र मेगा भेन्चर प्रा।लि। लाई प्राप्ति, गाभ्ने प्रस्ताव पारित गर्नेछ र सोको लागि आवश्यक समिति गठन र सञ्चालक समितिलाई अख्तियारी दिने र आयोजनामा पुनः निर्माणको लागि कर्जा थप गर्ने प्रस्ताव पारित गरिनेछ ।

    सभा प्रयोजनार्थ कम्पनीले जेठ १७ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।


    images

    Logo