गण्डकी । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले गण्डकी प्रदेशलाई आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी हुन्डाईका प्रबन्धक भीमसिंह खत्रीले कोरोना उपचारका बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक दुई हजार सेट पिपिईलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र सङ्क्रमण रोकथाममा मद्दत पुगोस् भनेर हुन्डाई मोटर्स कम्पनी दक्षिण कोरियाको सहयोगमा रु ५० लाख मुल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रबन्धक खत्रीले जानकारी दिए ।
हुन्डाईले गत वर्ष प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रु एक करोड र ‘फिभर क्लिनिक’ स्थापनाका लागि पनि सहयोग उपलव्ध गराएको थियो ।
मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले पिपिई सेट आवश्यकताका आधारमा प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइने जानकारी दिए ।
मन्त्रालयले प्राप्त स्वास्थ्य सामग्री तत्कालै जिल्लाहरुमा पुग्ने व्यवस्थाका लागि प्रदेश आपूर्ति व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छ ।


