काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थप १५ वर्ष सत्ता नछोड्ने योजना बनाएका छन् । पुटिनले एउटा विधेयकमा हस्ताक्षर गरेपछि गरी थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो खुला गरेका छन् । यसो गर्दा उनी सन् २०३६ सम्म सत्तामा रहनेछन् । यो अवधिमा उनी ८३ वर्षको हुनेछन् ।
संविधानअनुसार ६८ वर्षीय पुटिनले दोस्रो कार्यकाल सकिएसँगै सन् २०२४ मा सत्ताबाट बाहिरिनुपर्ने अवस्था थियो । तर, गत वर्ष जनमतसंग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो दिएको हो । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।
नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ । गत मार्चमा रुसको संसद्ले उक्त संशोधन पास गरेको थियो । पुटिन पहिलो पटक सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए ।
चार–चार वर्षको दुई कार्यकाल बिताएपछि पुटिनले आफ्ना सहयोगी दिमित्री मेडभेडेवलाई राष्ट्रपति बनाउँदै २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए । सन् २०१२ मा उनी पुनः राष्ट्रपतिको रुपमा उदाए ।


