काठमाडौं । दक्षिण अफ्रिकामा पछिल्लो तीन महिनामा झन्डै ६०० जना महिलाको हत्या भएको छ । सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा देशभर ५८१ जना महिला मारिएका हुन् ।
आज सार्वजनिक गरिएको अपराधसम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी जोहानेसबर्गसमेत रहेको गाउटेङ प्रान्तमा १३१ जना महिलाको हत्या भएको छ ।
प्रहरीका अनुसार उक्त तीन महिनाको अवधिमा दक्षिण अफ्रिकाभर कुल ५ हजार ५९० वटा हत्याका घटना भएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २०४ ले कम हो । यद्यपि, देशमा दैनिक औसतमा झन्डै ६० जनाको हत्या हुने गरेको तथ्याङ्कले देखाएको छ ।
महिला हत्याका घटनाले दक्षिण अफ्रिकामा राष्ट्रव्यापी आक्रोश बढाएको छ । घटनामा संलग्न दोषीको पहिचान गरी कारबाही गर्न प्रहरीमाथि दबाब बढेको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिका लैङ्गिक हिंसा तथा महिला हत्याको उच्च दर भएका मुलुकमध्ये एक हो ।
कार्यवाहक प्रहरीमन्त्री फिरोज काचालियाले महिला तथा बालबालिकाको सुरक्षाका लागि थप कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायले थप प्रभावकारी प्रयास गर्नुपर्ने बताएका छन् ।



