इस्लामाबाद । पाकिस्तानले भारतबाट विभिन्न समान ल्याउने अनुमति दिएको छ । दुई देशको तिक्ततापूर्ण सम्बन्धका बीच पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको हो ।
पाकिस्तानले भारतबाट पाँच लाख टन चिनी खरिद गर्नेगरी अघिल्लो साता निर्णय गरेको थियो । सरकारको यस कदमले पाकिस्तानमा चिनीको बढ्दो मूल्यवृद्धिलाई २० प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको छ । चाँडै आउन लागेको रम्जान महिनामा चिनीको उपभोग अरु बढ्ने भएपछि पाकिस्तान सरकारले यस्तो निर्णय लिएको हो।
त्यस्तै पाकिस्तानले भारतबाट करिब ३० लाख टन गहुँ पनि खरिद गर्नेछ । कपास र धागो पनि ल्याउने बताए पनि यसको परिमाण खुलाइएको छैन ।
पाकिस्तानको अर्थतन्त्र पहिल्यैदेखि मन्दीको अवस्थाबाट गुज्रिरहेको छ, र कोरोना भाइरसको तेस्रो लहरका कारण देशका विभिन्न स्थानमा आंशिक लकडाउन गर्नु परेकाले अर्थतन्त्रमा थप तनाब अरु बढाएको छ ।
भारतले काश्मिरलाई दिइआएको विशेष दर्जा हटाएसँगै सन् २०१९ देखि पाकिस्तानले भारतसँगको व्यापार र कुटनीतिक सम्बन्ध निलम्बन गरेको थियो । दुबै मुलुकले वरिष्ठ कुटनीतिज्ञलाई फिर्ता बोलाउएका थिए।
तर पछिल्लो केही समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पत्र आदानप्रदान भएका छन् । दुबै देशको साझा नदीका रुपमा रहेको इन्दु नदीको प्रयोगका सन्दर्भमा दुबै देशका वरिष्ठ अधिकारीहरुबीच वार्ता पुनः थालनी भएको छ ।
काश्मिर मामिलामा नयाँ दिल्लीको अडानमा कुनै परिवर्तन नआउँदै भारतसँग व्यापार किन खोल्न लागिएको भनी बुधबार सोधिएको प्रश्नमा पाकिस्तानी अर्थमन्त्री हमाद अजहरले जनताको भलाईका लागि सरकारले निर्णय गर्ने बताए ।
पाकिस्तानी अर्थशास्त्री फारुख सलीमले भारतसँगको व्यापार सम्बन्ध तोड्ने पाकिस्तान सरकारको निर्णय भावनात्मक रहेको बताउँदै अहिले व्यापार पुनः शुरु गर्नु आर्थिक बाध्यता हो भने ।
अजहरले अर्थ मन्त्रालयको कार्यभार सम्हालेलगत्तै यस्तो निर्णय गराएका हुन् । प्रधानमन्त्री खानले पूर्व अर्थमन्त्रीले बढ्दो मुद्रास्फिती रोक्न नसकेको आरोप लगाउँदै अर्थमन्त्रीलाई बर्खास्त गरेका थिए।
यसैबीच, अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई उपलब्ध गराउने भनिएको छ अर्ब डलर स्वीकृत गरेको छ । कोरोना भाइरस महामारी शुरु भएपछि उक्त रकम रोक्का गरिएको थियो । यसै साता कोषले ५० करोड डलर पाकिस्तानलाई उपलब्ध गराएको छ ।
पाकिस्तानमाथि करिब ११४ अर्ब डलर विदेशी ऋणभार छ । यो रकम पाकिस्तानको कूल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशतभन्दा बढी हो ।


