काठमाडौं । दुई वित्तिय संस्थाले साधारण सभा बोलाएका छन् । आईसीएफसी फाइनान्सले पुस २९ गते र सूर्योदय वोमी लघुवित्तले पुस २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।
आईसीएफसी फाइनान्सको सञ्चालक समितिको बैठकले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.२६६२ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ ।
सभाले कम्पनीमा संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
त्यस्तै, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था यही पुस २८ गते बस्ने गरी वार्षिक साधारणसभा बोलाएको छ । सभा ललितपुरको लुभुस्थित लुभु पार्टी प्यासले एन्ड क्याटरिङ सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.९६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९६ प्रतिशत नगद लाभांश छन् ।
सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । मर्जरमा जानका लागि नियमनकारी निकायहरुबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।


