काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा ३२ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा यस्तो अवस्था देखिएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा राष्ट्रिय स्तरका ८ विकास बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा गरेका थिए । उक्त नाफा यसपटक ३२.१९ प्रतिशतले बढेर २ अर्ब ५८ करोड रुपैयाँ पुगेको हो ।
राष्ट्रिय स्तरका ८ मध्ये ६ वटा विकास बैंकको नाफा बढेको छ । यो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा ज्योति, गरिमा ,महालक्ष्मी, सांग्रीला, कामना सेवा र मुक्तिनाथ विकास बैंक रहेका छन् । शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकको नाफा भने घटेको छ ।
नाफा बढेका ६ बैंक
नाफा बढेका विकास बैंकहरु मध्ये ज्योति विकास बैंकको नाफा सर्वाधिक १४७.५७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १० करोड १० लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर २५ करोड १ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा गरेको गरिमा विकास बैंकको नाफा ७६.५९ प्रतिशले बढेर ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३१ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो ।
महालक्ष्मी विकास बैंकको नाफा पनि ५७.३९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा १८ करोड २६ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर २८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, सांग्रीला विकास बैंकको नाफा पनि ४९ प्रतिशतले बढेर १९ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त बैंकले १० करोड २ लाख रुपैयाँ नाफा गरेको थियो ।
कामना सेवा विकास बैंकको नाफा पनि करिब एक चौथाईले बढेको छ । गत आर्थिक वर्षको ६ महिनामा २५ करोड ८९ लाख रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक २४.५५ प्रतिशतले बढेर ३२ करोड २४ लाख रुपैयाँ पुगेको हो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा पनि १९.७८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४२ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक बढेर ५० करोड ३१ लाख रुपैयाँ पुगेको हो ।
दुई विकास बैंकको नाफा घट्यो
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा शाइन रेसुङ्गा विकास बैंकको नाफा १०.८७ प्रतिशत र लुम्बिनी विकास बैंकको नाफा ३०.४५ प्रतिशतले घटेको छ ।


