काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को ७ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले बढेको देखिएको हो ।
गत आर्थिक बर्ष २०८०।८१ को असार मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । उक्त निक्षेप चालु आर्थिक बर्षको माघ मसान्तसम्म बढेर ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । यस्तै गत असार मसान्तसम्म ४५ खर्ब ७० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह माघ मसान्तसम्म बढेर ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको हो ।
यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले आफ्नो निक्षेप संकलन सुधार गरेको देखिन्छ । बैंकले गत असार मसान्तयता निक्षेपमा ४० अर्बको वृद्धि हाँसिल गर्दै कुल निक्षेप ५ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ ।
यस्तै यसै अवधिमा एभरेष्ट बैंकको ३४ अर्बले, एनएमबी बैंकको २७ अर्बले, नबिल बैंकको २३ अर्बले र लक्ष्मी सनराइजको २२ अर्बले निक्षेप संकलन वृद्धि भएको छ ।
यस अवधिमा निक्षेप संकलन ग्लोबल आइएमईपश्चात नबिल बैंकले ४ अर्ब ९९ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब, कुमारी बैंकले ३ खर्ब ६१ अर्ब र लक्ष्मी सनराइजले ३ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै यस अवधिसम्म नेपाल बैंकले ३ खर्ब ४ अर्ब, एनआइसी एशियाले ३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको देखिएको छ । यता, निक्षेप एनआइसी एशियाको ५८ अर्ब, प्रभूको ३ अर्ब र सिद्धार्थ बैंकको १ अर्ब ६० करोड रुपैयाँले निक्षेप घटेको छ ।
यता कर्जा प्रवाहतर्फ पनि ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा नबिल बैंकले ४ अर्ब ११ अर्ब रुपैयाँ प्रवाह गरेको देखिन्छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ३ खर्ब ५१ अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब र हिमालयन बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।
एनआइसी एशियाको कर्जा लगानी ३२ अर्ब ८८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ७९ करोड र प्रभू बैंकको १ अर्ब ५८ करोड रुपैयाँ घटेको छ ।


