काठमाडौं । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६७ खर्ब ६४ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म अथात् १३ मार्च, २०२४ सम्ममा बैंकहरुको निक्षेप ६७ खर्ब ६४ अर्ब पुगेको हो ।
फागुन २८ गते ६७ खर्ब ५८ अर्ब रुपैयाँ बराबर निक्षेप रहेकोमा भोलिपल्ट अर्थात् एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ ।
यस्तै यस अवधिमा वाणिज्य बैंकहरुले जम्मा ४८ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।
सो समयमा कर्जा प्रवाहमा भने १ अर्बको गिरावट देखिएको छ । २८ गते ५४ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट घटेर ५४ खर्ब ६२ अर्ब रुपैयाँ प्रवाह भएको छ ।
यसरी हेर्दा बैंकहरुले राष्ट्र बैंकले दिएको सीमासम्म कर्जा प्रवाह नगरेको देखिन्छ । हाल कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत तोकिएपनि हालसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ७९.४७ प्रतिशतमा झरेको छ ।
फागुन मसान्तसम्मको तथ्यांकअनुसार, वाणिज्य बैंकहरूले ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ खर्ब ५० अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।


