काठमाडौं । वाणिज्य बैंकहरूबाट कर्जा प्रवाहमा क्रमशः सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा बैंकहरूले दिएको कर्जा उल्लेखनीय रूपमा बढेको छ ।
नेपाल बैंकर्स संघका अनुसार, यो अवधिमा वाणिज्य बैंकहरूले कर्जा प्रवाह ७.५० प्रतिशतले बढाएर कुल ४९ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएका छन् । अघिल्लो असार मसान्तसम्म यो रकम ४५ खर्ब ७० अर्ब रुपैयाँ थियो । त्यसअनुसार ९ महिनामा कर्जा प्रवाह ३ खर्ब ४३ अर्ब रुपैयाँले वृद्धि भएको हो ।
यसैबीच, निक्षेप सङ्कलन पनि ६.३१ प्रतिशतले वृद्धि भई ६१ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म यो रकम ५७ खर्ब ५४ अर्ब रुपैयाँ थियो, जसले गर्दा ९ महिनामा निक्षेप ३ खर्ब ६३ अर्ब रुपैयाँले बढेको देखिन्छ ।
यस अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक ग्लोबल आईएमई रहेको छ भने कर्जा लगानी वृद्धिमा एभरेष्ट बैंक अगाडि देखिएको छ । तर, एनआईसी एशिया बैंक र प्रभु बैंकको कर्जा लगानी भने घटेको छ ।


