काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा एनआईसी एशिया बैंकको मुनाफामा उल्लेखनीय गिरावट आएको छ । बैंकले सो अवधिमा १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानी र कमिशन आम्दानीमा आएको गिरावट र इम्पेरिमेन्ट चार्जमा उल्लेखनीय वृद्धि हो । खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोडमा सीमित रहँदा, इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ । त्यसैगरी, फि तथा कमिशन आम्दानी पनि ४०.६६ प्रतिशतले घटेको छ ।
बैंकको सञ्चालन मुनाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा झरेको छ । यसका साथै, वितरणयोग्य आम्दानी ऋणात्मक ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा बैंकले २ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब रुपैयाँ कर्जामा लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत पुगेको छ ।
प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४१ पैसामा झरेको छ, भने प्रतिशेयर नेटवर्थ भने १९९ रुपैयाँ ३० पैसामा कायम छ ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात भने २६६.६४ गुणामा पुगेको छ ।


