images
images

खुद ब्याज आम्दानी घट्दा पनि कसरी बढ्याे लक्ष्मी सनराइज बैंकको नाफा ?


  • 597
    SHARES
  • २०८२ बैशाख ७ गते आइतबार

    खुद ब्याज आम्दानी घट्दा पनि कसरी बढ्याे लक्ष्मी सनराइज बैंकको नाफा ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंककाे नाफा ४ कराेड रूपैयाँले बढेकाे छ । बैंकले सार्वजनिक गरेकाे तेस्राे त्रैमाससम्मकाे वित्तिय विवरणमा नाफा बढेकाे पाइएकाे हाे । 

    बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ६१ करोड नाफा कमाएको थियो ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको देखिन्छ । गत वर्ष ८ अर्ब ५१ करोड रुपैयाँ रहेको ब्याज आम्दानी यो वर्ष घटेर ७ अर्ब ८९ करोडमा झरेको छ । तर, नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम (इम्पेरिमेन्ट चार्ज) ४ अर्बबाट घटेर ३ अर्ब २० करोडमा झरेकोले नाफा बढ्न सहयोग पुगेको हो ।

    बैंकको कर्मचारी खर्च केही बढेपनि अन्य वित्तीय सूचकहरूमा ठूला उतारचढाव नदेखिएकाले नाफामा स्थिरता देखिएको छ ।

    चैत मसान्तसम्म बैंकले ३ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १५ अर्ब र कर्जा १९ करोडले वृद्धि भएको छ ।

    यद्यपि नाफा बढे पनि प्रति शेयर आम्दानी थोरै घटेको छ । गत वर्षको चैतसम्म ९.२९ रुपैयाँ रहेको प्रति शेयर आम्दानी अहिले ९.०५ रुपैयाँमा झरेको छ । बैंकको नेटवर्थ भने १७६.१६ रुपैयाँ कायम छ ।

    निष्क्रिय कर्जाको अनुपात पनि सामान्य दरले बढेर ५.४९ प्रतिशतबाट ५.८६ प्रतिशत पुगेको छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.३ प्रतिशत रहेको छ ।

    बैंकसँग हाल ७७ करोड २७ लाख रुपैयाँ वितरणयोग्य नाफा छ, जुन हालको आधारमा ३.१७ प्रतिशत लाभांश वितरण गर्न पर्याप्त देखिन्छ ।


    images

    Logo