काठमाडौं । आगामि आर्थिक वर्ष २०८२÷०८३ को वजेट आज आउँने भएको छ । सरकारले आज अपरान्ह तीन वजे करिव २० खर्बको बजेट ल्याउन लागेको हो । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले वजेट प्रस्तुत गर्ने कार्यसुचि तय भएको छ ।
आगामी आर्थिक वर्षका लागि लागि राष्ट्रिय योजना आयोगले भने १९ खर्बको सिलिङ दिएको छ। तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब रुपैयाँ हाराहारीको वजेट ल्याउँने तयारी गरेको छ। । नयाँ कार्यक्रम नराख्ने र निर्माणाधीन राष्ट्रिय परियोजना समयमा सक्ने गरी वजेट आउँन लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
वजेटमा सामाजिक सुरक्षा कार्यक्रम परिस्कृत गर्ने र कृषिको व्यवसायीकरणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइएको छ। यस वर्ष वृद्धभत्ता पाउनेको उमेर पनि सरकारले ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याउने भएको छ। वजेटले कर्मचारीको तलब बढाउने भएको छ।
स्वदेशमा औद्यागिक उत्पादन लागत घटाउन कच्चा पदार्थको सहज उपलब्ध गराउने नीति बजेटले लिने जनाइएको छ। नवउद्यम र स्वरोजगारलाई जोड दिने गरी कार्यक्रम बजेटमा समेटिँने बताइएको छ। स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने अर्थस्रोतको दावी छ ।
बजेटमा आर्थिक रोजगार दशक र कृषि लगानी दशकलाई विशेष प्राथमिकता दिइने भएको छ। मध्यपहाडी लोकमार्ग आसपासलाई ग्रीन इकोनमिक बेल्ट घोषणा गर्ने सरकारको तयारी छ। कृषिजन्य वस्तुको निर्यात प्रोत्साहन गर्न गर्ने नीति वजेटले लिने जनाइएको छ।
बाँझो रहेको करिब १० लाख हेक्टर जमिनमा उत्पादन बढाउनका लागि सामूहिक र करार खेतीको प्रबन्ध मिलाउने गरी बजेट ल्याइँदै छ। त्यसका लागि कृषि प्रयोगशालाको क्षमता विकास गरिने भएको छ। उच्च मूल्यका कृषि उपजको उत्पादन वृद्धिका लागि पकेट क्षेत्र तोकिँदै छ।
औद्योगिक उत्पादन बढाउन निर्माणाधीन औद्योगिक ग्राम समयमा सक्ने गरी प्रयाप्त बजेट छुट्याइँएको छ। त्यसैगरी रुग्ण सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने घोषणा वजेटले गर्ने भएको छ। त्यस्तै नदीजन्य निर्माण सामग्रीको उत्पादन तथा बिक्रीको व्यवस्था वजेटले गर्ने अधिकारीहरुले बताएका छन् ।


