images
images

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा, आजै महत्वपूर्ण भेटघाट


  • 425
    SHARES
  • २०८२ भाद्र १ गते आइतबार

    भारतीय विदेशसचिव मिस्री काठमाडौँमा, आजै महत्वपूर्ण भेटघाट

    काठमाडौँ । भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।  परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने भ्रमणका लागि मिस्री काठमाडौं आएका हुन् । 

    भ्रमणका क्रममा विदेशसचिव मिस्रीले आजै महत्वपूर्ण भेटघाट शुरु गर्ने भएका छन् । त्यसै क्रममा मिश्रीले आजै अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने छन् । 

    मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेल, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।

    सोल्टी होटेलमा रहेका मिश्री त्यहाँबाट सिधै प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरवार जानेछन् । त्यसपछि शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ।  परराष्ट्र मन्त्री राणालाई भेटेपछि दुई पक्षीय वार्ता सुरु हुनेछ ।

    आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने मन्त्रालयले जनाएको छ । विदेशसचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने बताइएको छ ।

     




    images

    Logo