काठमाडौं । साउन महिनामा नै १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नेपालको वित्तीय अवस्था अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सो रकम बराबरको रेमिट्यान्स भित्रिएको हो ।
यो गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो । गत वर्ष यस्तो रकम १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
चालु आव साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आव पहिलो महिना खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड थियो ।


