काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा गरी वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गएको आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए । गएको वर्षको तुलनामा चालू वर्षको पहिलो दुई महिनामा २० वटा वाणिज्य बैंकमध्ये १४ वटाको नाफा बढेको छ भने सात वटाको घटेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले एक अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गएको आर्थिक वर्षको तुलनामा ७ दशमलव २६ प्रतिशतले घटेको हो ।
गएको वर्ष एक अर्ब २३ करोड नाफा कमाएको हिमालयन बैंकको नाफा ३७ करोड रुपैयाँमा खुम्चिएको छ । यो ३० प्रतिशतभन्दा धेरैको गिरावट हो । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नाफा नेपाल एसबीआई बैंकको रहेको छ । एसबीआईले पहिलो दुई महिनामा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।


