images
images

राष्ट्र बैंकले गर्यो २ बैंकलाई कारबाही, कुन–कुन परे ?


  • 387
    SHARES
  • २०८२ कार्तिक १३ गते बिहीबार

    राष्ट्र बैंकले गर्यो २ बैंकलाई कारबाही, कुन–कुन परे ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ विकास बैंकलाई कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा लुम्बिनी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । 

    राष्ट्र बैंकले लुम्बिनी विकास बैंकलाई सचेत गराएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकलाई तीन शीर्षकमा कारबाही गरेको छ । ‘स्थलगत निरीक्षण पश्चात तयार गरेको प्रतिवेदनमा संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गर्दाको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयपश्चात नै वृद्धि गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ मा भएको व्यवस्था उल्लंघन गरेको’ राष्ट्र बैंकले उल्लेख गरेको छ ।

    सोही कारण बैंकको तत्कालीन संचालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शिघ्र सुधारात्मक कारबाही गरेको जानकारी दिएको छ । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ‘क’ मा रहेको व्यवस्था अनुसार बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरिएको जनाएको छ । राष्ट्र बैंककाअनुसार सप्तकोशीमा स्थलगत निरीक्षणमा थप गरिएको कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेको १० प्रतिशतको न्यूनतम पुँजीकोष अनुपातमा ४२.७ प्रतिशतले नपुग रहेको पाइएको छ ।

    त्यस्तै २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरण अनुसार न्यूनतम पुँजीकोष अनुपात ७.५१ प्रतिशत रहेको जुन राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपातमा २४.९ प्रतिशतले न्यून रहेकोले बैंकलाई कारबाही गर्नु परेको राष्ट्र बैंकको भनाइ छ ।


    images

    Logo