काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१.८२ को असोजसम्म कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षमा कम्पनीको नाफा ४.९४ प्रतिशतले बढेको हो।
सो अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १३.१८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.१५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३.६७ प्रतिशत र कुल खर्च ४.३० प्रतिशत बढेको छ ।
असोजसम्म कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ४५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १७.७८ प्रतिशतले बढेको छ।
सो अवधिसम्म कम्पनीको १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.१८ प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९ रुपैयाँ ५५ पैसा कायम भएको छ। पीई रेसियो ७७.९९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३८ रुपैयाँ १४ पैसा रहेको छ।


