दैलेख । वर्षौँदेखि खानेपानीको चरम अभाव झेल्दै आएका दैलेखको भगवतीमाई गाउँपालिकाका वडा नम्बर १, ३ र ४ का बासिन्दाका लागि अब पानी सपना रहेन । नेपाल रेडक्रस सोसाइटी, ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त सहकार्यमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ अन्तर्गत चारवटा खानेपानी योजना सफलतापूर्वक सम्पन्न भएपछि ती वडाका करिब १९६ घरधुरीका १ हजार १ सय ८४ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
परियोजनाले तीनै वडामा ‘एक घर–एक धारा’ अवधारणालाई व्यवहारमा उतारेको छ । अब स्थानीयले पानीका लागि टाढा–टाढासम्म धाउनुपर्दैन । स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी घरमै उपलब्ध भएपछि स्थानीयको दैनिकी मात्र सहज बनेको छैन, जीवनस्तरमै सकारात्मक परिवर्तन आएको छ ।
वडाहरुमा दीर्घकालीन खानेपानी संरचना
वडा नम्बर ३ का वडाध्यक्ष मानबहादुर खड्काका अनुसार परियोजना र गाउँपालिकाको सहकार्यमा निर्माण भएको भक्रमुल–सिस्नेरी खानेपानी तथा सरसफाइ योजना मार्फत मात्र ९४ घरधुरीमा धारा जडान गरिएको छ ।
“पहिले कुँडाको दूषित पानी पिउन बाध्य थियौँ । त्यसकै कारण बारम्बार बिरामी पथ्र्यौँ । अहिले घरमै सुरक्षित पानी आएपछि स्वास्थ्यचौकी धाउने समस्या पनि धेरै घटेको छ,” वडाध्यक्ष खड्काले भने ।
योजनाले केवल धारा निर्माणमै सीमित नभई मुहान दर्ता, उपभोक्ता समिति सुदृढीकरण, नियमित महसुल संकलन र पानी सुरक्षा योजना जस्ता अभ्यासलाई संस्थागत रूपमा अघि बढाएको छ, जसले योजनाको दीर्घकालीन दिगोपन सुनिश्चित गरेको छ ।
विपन्न समुदायलाई प्रत्यक्ष राहत
परियोजनाले २४ अति विपन्न घरधुरीलाई शौचालय निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ । साथै, विद्यालयहरूमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी संरचना निर्माण गरी तीन तारे विद्यालय घोषणा प्रक्रियामा समेत सहयोग गरिएको वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार वडामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि सामुदायिक सरसफाइको अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ ।
महिलाको समय बचत, स्वास्थ्य व्यवहारमा सुधार
वडा नम्बर ४ का वडाध्यक्ष देवलोक अधिकारीका अनुसार खानेपानीको पहुँच विस्तार भएपछि महिलाको दैनिक मेहनत र समयखर्चमा ठूलो कमी आएको छ ।
“स्वास्थ्य आमा समूहदेखि विद्यालयस्तरसम्म स्वच्छता, सरसफाइ, हातधुने बानी र खानेपानी सुरक्षाबारे रेडक्रसले दिएको सहयोग अत्यन्त प्रभावकारी देखिएको छ,” उनले भने ।
विद्यार्थी निशा खड्का भन्छिन्, “पहिले बिहानै पानी लिन जानुपथ्र्यो । अहिले घरमै धारा भएपछि विद्यालय जान छिटो हुन्छ, पढ्न समय पनि पुग्छ ।”
स्वास्थ्य, विपद् व्यवस्थापन र स्थानीय क्षमताको सुदृढीकरण
नेपाल रेडक्रस सोसाइटी दैलेखका जिल्ला सभापति निरञ्जन खत्रीका अनुसार खानेपानीसँगै सुरक्षित सुत्केरी सेवा, पारिवारिक विपद् पूर्वतयारी, चर्पी प्रयोग र व्यवहार परिवर्तन अभियानमा ६३ जना प्रशिक्षित स्वयंसेवक परिचालन गरिएको छ ।
परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठका अनुसार पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्यसहित वडास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिहरू सक्रिय छन् । उनले जानकारी दिए अनुसार— ६६ स्वयंसेवकलाई आधारभूत प्राथमिक उपचार तालिम, ५८ स्वयंसेवकलाई खोज–उद्धार तथा सामुदायिक पहल तालिम, २४ स्वयंसेवकलाई द्रुत प्रतिकार्य तालिम, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका लागि विपद् प्रतिकार्य सामग्री हस्तान्तरण, विद्यालय र समुदायमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन अभिमुखीकरण जस्ता गतिविधिले स्थानीय क्षमतामा बलियो आधार तयार पारेको छ ।
सामुदायिक परिवर्तनमा रेडक्रसको नेतृत्वकारी भूमिका
स्थानीय सरसफाइ, स्वास्थ्य र सुरक्षित खानेपानी पहुँच सुधारको यो सफलताले रेडक्रसको सामुदायिक तहमा दीर्घकालीन र जीवनमूलक हस्तक्षेप कति प्रभावकारी हुन्छ भन्ने स्पष्ट प्रमाण दिएको छ ।
यो पहलले केवल खानेपानी संकटको समाधान गरेको छैन, विपन्न समुदायलाई लक्षित सहयोग, स्वास्थ्य अभिमुखीकरण र विपद् पूर्वतयारीमार्फत दिगो सामाजिक परिवर्तनको आधार समेत निर्माण गरेको छ ।
खानेपानी अभावसँग संघर्ष गर्दै आएका भगवतीमाईका बासिन्दाले अब घरमै सुरक्षित पानी पिउन पाउने निश्चिततासहित नयाँ, स्वस्थ र सम्मानित जीवनशैलीतर्फ कदम चालेका छन् ।
त्यसैगरी भगवतीमाई गाउँपालिका–३ मा बर्थिङ सेन्टर टाढा हुँदा गर्भवती महिलालाई आज पनि ‘स्ट्रेचर’मै बोकेर स्वास्थ्य संस्थासम्म लैजानुपर्ने बाध्यता छ । गाउँमा एम्बुलेन्स नहुँदा र अधिकांश पुरुष रोजगारीका लागि बाहिर रहेकाले यो जिम्मेवारी प्रायः स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले नै वहन गरिरहेका छन् ।
मेलतोलीकी अमृताकुमारी खड्काले मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तान जन्माउँदा पनि यही अवस्था झेल्नुप¥यो । सुत्केरी व्यथा सुरु भएपछि उनलाई छिमेकीको सहयोगमा करिब एक घण्टा टाढाको बर्थिङ सेन्टरसम्म ‘स्ट्रेचर’मा पु¥याइएको थियो । गर्भावस्थादेखि सुत्केरीपश्चात्सम्म स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले निरन्तर हेरचाह गरेको उनले बताइन् ।
वडाध्यक्ष मानबहादुर खड्काका अनुसार गाउँपालिकाभर ८१ वटा स्वास्थ्य आमा समूह सक्रिय छन् । पुरुष उपलब्ध नहुँदा महिलाले नै गर्भवती बोकेर लैजानुपर्ने अवस्था अन्त्य गर्न एम्बुलेन्स व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।
स्वास्थ्य आमा समूहले गर्भवती र पाँच वर्षमुनिका बालबालिकाका लागि ‘सुरक्षित मातृत्व कोष’समेत स्थापना गरेका छन् । नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले ब्रिटिस र स्विस रेडक्रसको सहयोगमा स्वास्थ्य सामग्री, भवन मर्मत, तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका कारण गाउँमा पछिल्लो समय घरमै सुत्केरी हुनेको संख्या शून्यमा झरेको बताइन्छ ।


पेशल आचार्य
