|
Highlights प्रशासनिक सुधार : आफ्नै लगानीमा प्रमुख प्रशासकीय भवन निर्माण, सेवा प्रवाह सुरु । भौतिक पूर्वाधार : नगरका सेवा प्रदायकसम्म पुग्ने सडकको ५०% भन्दा बढी स्तरोन्नति, चाँगुनारायण फास्ट ट्रयाकको ७०% कार्य सम्पन्न । स्वास्थ्य क्षेत्रमा सुधार : २४ सै घण्टा सञ्चालन हुने २५ सैयाको नगर अस्पताल स्थापना, २ नयाँ शहरी स्वास्थ्य केन्द्र स्थापना । |
जिवन खत्री
नगरप्रमुख, चाँगुनारायण नगरपालिका
चाँगुनारायण नगरपालिका नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो । यो नगरपालिका अहिले विकास र समृद्धिको नयाँ यात्रामा अघि बढिरहेको छ । तीन वर्षअघि नगरप्रमुखका रूपमा कार्यभार सम्हालेका जिवन खत्रीको नेतृत्वमा नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय परिवर्तनको प्रयास गरिरहेको छ । यस अन्तरवार्तामा मेयर खत्रीले आफ्नो कार्यकालको समीक्षा गर्दै प्रशासनिक सुधार, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सामाजिक समावेशीकरणका क्षेत्रमा गरिएका काम र भोगिएका चुनौतीहरूबारे खुलेर आफ्ना कुरा राखेका छन् । साथै, आगामी योजनाहरू, नीति–निर्माणका प्राथमिकता र सामूहिक सहभागिताको महत्वसमेत उजागर गरेका छन् । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनताको प्रत्यक्ष सरोकार र सहभागितालाई कसरी विकासमा रुपान्तरण गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण उनले प्रस्तुत गरेका छन् । यो अन्तरर्वार्ता चाँगुनारायण नगरपालिकाको वर्तमान स्थिति र भविष्यको सम्भावनाबारे एक महत्वपूर्ण दस्तावेज बन्न पुगेको छ ।
चाँगुनारायण नगरपालिकाको मेयरको रूपमा बिताएका तीन वर्षको समीक्षा कसरी गर्नुहुन्छ ?
– चाँगुनारायण नगरपालिका नयाँ संरचना भएकाले यहाँका स्रोत, साधन र पूर्वाधारलाई संस्थागत रूपमा व्यवस्थापन गर्नु पहिलो प्राथमिकता रह्यो । पहिलो कार्यकालमा चाँगुनारायणको प्रशासनिक भवन सम्पन्न गर्यौं र सेवा प्रवाह सुरु गर्यौं । स्थानीय सरकार नागरिकसँग नजिक हुन्छ, त्यसैले नागरिकका समस्या समाधानमा विशेष ध्यान दिएका छौं ।
स्वास्थ्यतर्फ निःशुल्क रगत र अक्सिजन सेवा सुरु गरियो । चाँगुनारायण अस्पताल घोषणा गरेका छौं । नेपाल सरकारको ७५३ वटै स्थानीय तहलाई नगर स्वास्थ्य अस्पताल दिने योजनाअनुसार सम्बन्धनका लागि प्रक्रिया पूरा गरी संघीय सरकारमा फाइल पेश गरेका छौं । नगरबासीको करबाट १५ सैयाको सट्टा २५ सैयाको नगर अस्पताल २४ सै घण्टा सञ्चालनमा ल्याएका छौं ।
नयाँ दुई वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौं । जेष्ठ नागरिक, असहाय र विपन्न नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौं ।
पशुमा देखिएको लम्पी स्किन रोगजस्ता समस्यामा निःशुल्क औषधि उपचार र खोप प्रदान गरियो । तीन वर्षमा पहिलो पञ्चवर्षीय आवधिक कार्ययोजना तयार पारियो । त्यसमा विषयगत र क्षेत्रगत योजना बनाएर, विशेष गरी भौतिक पूर्वाधारलाई रणनीतिक प्राथमिकतामा राखी बजेट तर्जुमा गरी कार्यान्वयनको दिशामा अघि बढेका छौं ।
विशेषगरी ९ वटै वडा जोड्ने सडकको स्तरोन्नति, सेवा प्रदायकसम्म पुग्ने सडकको सुधारमा विशेष प्राथमिकता दिइयो । बजेट विनियोजन गरेर सडक, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा ठूलो लगानी गरिएको छ । यसै कार्यकालमा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा पुग्ने सडक सञ्जाल पूर्ण निर्माण गरी कालोपत्रे वा ढलान गरिसक्ने लक्ष्य लिएको छु । तीन वर्षमा सडक सञ्जाल निर्माणमा ठूलो उपलब्धि हासिल गरेका छौं र बाँकी दुई वर्षमा अन्य योजनामा तीव्रताका साथ अघि बढ्नेछौं ।
शिक्षामा सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्न विषयगत शिक्षक व्यवस्थापन, छात्रवृत्ति र पुरस्कार, पौष्टिक दिवा खाजा कार्यक्रम (१५ रुपैयाँ थपेर) जस्ता कार्यक्रमहरू सञ्चालन गरेका छौं । यसले गर्दा अब अभिभावकहरू आफ्ना छोराछोरीलाई काठमाडौँ लैजाने प्रवृत्ति घट्दै गएको छ । खेलकुदतर्फ पनि विभिन्न किसिमका प्रशिक्षण र तालिमको ब्यवस्था गर्दै आएका छौं ।
चुनावी प्रतिबद्धता अनुसार साधन, स्रोत र आवश्यकतालाई ध्यान दिएर नागरिकसँग प्रत्यक्ष जोडिएका सार्वजनिक महत्वका विषयहरूलाई प्राथमिकता दिई काम गरिरहेका छौं । गाउँ विकास समिति (गाविस) बाट नगरपालिका बन्दा कार्यशैली परिवर्तन भएको अनुभूति गरिरहेका छौं, दिनरात परिश्रम गरेर रिजल्ट दिनेगरी काम गरिरहेका छौं ।

चुनावअघि गरिएका वाचाहरु कति पूरा भए ? कठिनाइ के भए?
वाचा गरेका विषयलाई क्षेत्रगत र विषयगत रूपमा साधन स्रोतको अधिकतम प्रयोग गर्दै कार्यान्वयनको चरणमा छौं । नागरिकले कामप्रति अपनत्व ग्रहण नगर्दा केही कठिनाइ भए । नगरबासीको अपनत्व अभावले केही योजना कार्यान्वयनमा जटिलता आयो ।
चाँगुनारायणलाई आर्थिक समृद्धि र खुसीको नगरपालिका बनाउन नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गर्यौं । र, सोही अनुसार सम्माननीय राष्ट्रपति ज्यूबाट उद्घाटन भइ भ्रमण बर्ष उत्साहकासाथ सुरु भएको छ । सुरुका तीन दिनको अवस्था हेर्दा हामी लक्ष्यमा पुग्न सफल हुन्छौं भन्ने विश्वास जागेको छ ।
यसका साथै नागरिकमा ऊर्जा थप्न र सहभागिता बढाउन विभिन्न माध्यमबाट प्रयास गरिरहेका छौं ।
|
शिक्षा क्षेत्रमा पहल : सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, दिवा खाजा कार्यक्रम थपिएको । नगरकोट भ्रमण वर्ष २०८२ : कृषि र पर्यटनलाई जोडेर समृद्धिको अभियान । सामाजिक समावेशीकरण : दलित, महिला र विपन्न समुदायका लागि सशक्तीकरण कार्यक्रम सञ्चालन । |
योजना कार्यान्वयन गर्दा आउने अप्ठ्यारा कस्ता छन् ?
नीति, योजना र बजेट विनियोजनपछि उपभोक्ता समितिमार्फत् योजना कार्यान्वयन गर्दा स्थानीय बासिन्दाले अपनत्व नलिने समस्या देखिन्छ । कहिलेकाहीँ योजनाको दिगोपनभन्दा योजना सम्पन्न गर्न मात्र ध्यान दिइने समस्या पनि छ ।
ठूला योजना निर्माण व्यवसायीमार्फत् गर्दा समयमै काम नहुनु, म्याद थप्नुपर्ने जस्ता अप्ठ्यारा छन् ।
जबसम्म समुदायमा आफ्नो भन्न सक्ने भावना जगाउन सकिँदैन, तबसम्म पूर्वाधारले पनि दिगो फाइदा दिन सक्दैन । यी सबैका बाबजुद पनि हामी निरास हुनुपर्ने अवस्थामा भने छैनौं । योजना छन् र त्यसको कार्यान्वयनमा हामी सक्रिय पनि छौं ।
चाँगुको राजनीतिक अप्ठ्यारा चाहिँ कस्ता छन् ?
निर्वाचित भएपछि सबैका लागि काम गर्ने भनिए पनि व्यवहारमा राजनीतिक प्रभाव देखिन्छ । सस्तो लोकप्रियताको प्रतिस्पर्धाले पनि स्थानीय तहमा समस्या ल्याउँछ । यद्यपि, हामी नागरिक आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढिरहेका छौं । हामी विविध छौं तर विविधता भित्र पनि हाम्रो एकता छ ।
फरक पार्टीको मेयर–उपमेयर हुँदा आम पालिकामा द्धन्द छरपष्ट हुने गरेको देखिन्छ । तर चाँगुमा देखिनेगरी द्धन्द छैन । भित्री द्वन्द्व पनि छैन र ?
नेतृत्वबीच स्वभाविक प्रतिस्पर्धा हुन्छ । फरक पार्टीका मेयर र उपमेयर हुँदा कहिलेकाहीँ भित्री द्वन्द्व हुन्छ । राजनीतिमा सकारात्मक प्रतिस्पर्धा भइदिए राम्रो हुनेथियो । समाजमा राजनीति प्रति वितृष्णा बढ्नुमा हाम्रै व्यवहार दोषी छ । यी सबैकुरालाई अनुभूत गर्न सक्दा जग हँसाउने द्धन्द हुँदैन । तर, विकासकालागि सकारात्मक किसिमको प्रतिस्पर्धा चैं हुनु पर्छ ।
झन्डै तीन बर्ष मेयरको रुपमा विताई सक्नु भएको छ । बाँकी कार्यकाल कसरी बिताउने योजना छ ?
तेस्रो वर्ष अर्थात कार्यकालको ६० प्रतिसत समय बित्दैगर्दा कामको नतिजा नागरिकले अनुभूति गर्न थालेका छन् । बाँकी ४० प्रतिशत समयमा योजना कार्यान्वयनलाई अझै तीव्र बनाएर, नागरिकको विश्वास मजबुत बनाउने लक्ष्य लिएका छौं । नीतिगत, वैधानिक र दिगो विकासको दिशामा केन्द्रित हुनेछौं । हामी हाम्रो प्राथमिकतामा अहोरात्र लागिपरेका छौं ।
आर्थिक पारदर्शिताको सवालमा कस्तो काम भइरहेको छ ?
आर्थिक पारदर्शितामा हामी संवेदनशील छौं । छलफल, आर्थिक ऐन र खरिद ऐनअनुसार खर्च व्यवस्थापन गरिन्छ । खर्च विवरण सार्वजनिक गरिन्छ । नियमन गर्ने निकायहरूबाट आउने सुझावहरूलाई पनि समेट्दै काम गरिरहेका छौं । जो कोहीले चाँगुनारायण नगरपालिकाबाट आफूले चाहेका विषयमा सूचना लिन सक्छ ।
कानुनी सेवा प्रवाह र न्यायिक समितिको प्रभावकारिता कस्तो छ ?
स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो । सामान्यदेखि जटिल कानुनी समस्याहरु समाधान गर्न न्यायिक समिति क्रियाशील छ । समाधान गर्न नसकिने मुद्दाहरू कानुनी सल्लाहकारमार्फत् सम्बन्धित निकायमा पठाउने व्यवस्था गरिएको छ । न्यायिक समितिको कामप्रति नगरबासी सन्तुष्ट देखिन्छन् ।
सार्वजनिक यातायात र सडक व्यवस्थापनमा सुधार गर्न के कस्ता योजना बनाइएका छन् ?
चाँगुनारायण नगरपालिका नामै काफी छ । यो ऐतिहासिक, धार्मिक, पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध धार्मिक स्थल चाँगुनारायण मन्दिरको नामबाटै हाम्रो नगरपालिकाको नामाकरण भएको हो । त्यसैले यसको महत्व धेरै छ । सोही महत्वलाई बुझेर हामीले निर्वाचित भएर आएको पहिलो वर्षमै 'नगरकोट भ्रमण वर्ष २०८२' को घोषणा गर्यौँ ।
नेपाल सरकारले हाम्रै नगरपालिकाभित्र नयाँ शहर निर्माण गर्नका लागि १ लाख रोपनी जग्गा लिएको छ, तर त्यो अहिलेसम्म सुरु भने हुन सकेको छैन । पूर्वी इसानतर्फको नयाँ शहर चाँगुनारायण नगरपालिकामा बन्नुपर्छ भनेर हामीले आग्रह गरिरहेका छौं । नयाँ शहर निर्माण गर्ने भन्दै रोकिएको नागरिकको जग्गा फुकुवा गर्न हामीले तीन वर्षदेखि आग्रह गरिरहेका छौं । अहिलेको १ लाख रोपनीमा स्मार्ट सिटी बन्न प्राविधिक र व्यवहारिक दृष्टिले सम्भव नभएको निष्कर्षमा पुगेका छौं । त्यसैले सम्भव हुने क्षेत्रमा मात्र नयाँ शहर बनाउने र बाँकी क्षेत्रमा नगर विकास योजना कार्यान्वयन गर्ने तयारीमा छौं । यस सम्बन्धमा काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालयसँग छलफल हुँदै आएको छ र यसै आर्थिक वर्षभित्र नेपाल सरकारले ठोस निर्णय लिने विश्वास लिएका छौं ।
यदि यस वर्ष पनि निर्णय आएन भने, नीति तथा कार्यक्रमको विरुद्धमा, नगरपालिका आफैंले ‘नगर विकास समिति’ गठन गरेर विद्रोही कदम चाल्न तयार छ ।
यातायात पहुँच सुधार्न नगरकोट–काठमाडौं सिधा बस सेवा सञ्चालन गरिएको छ । भ्रमण वर्षको माध्यमबाट वडाहरूका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरुमा यातायात सञ्जाल विस्तार गर्ने कार्ययोजना अगाडि बढाइएको छ ।
भौतिक पूर्वाधारको क्षेत्रमा तीन वर्षमा भएका उल्लेख्य ३ वटा काम बताईदिनु न..
पहिलो, आफ्नै लगानीमा प्रमुख प्रशासकीय भवनको निर्माण । दोस्रो, चाँगुनारायण फास्ट ट्रयाक (नगरकोट–बागेश्वरी–सुडाल–ताथली मार्ग) को ७०% काम सम्पन्न, बाँकी काम अगाडि बढिरहेको । र, तेस्रो वर्षौँदेखि नबनेको दुवाकोट सडक कालोपत्रे गरिएको छ ।
भूकम्पले क्षतविक्षत चाँगुनारायण मन्दिर पुनःनिर्माण कार्य अगाडि बढाइएको, विकास समिति मार्फत् सञ्चालन र प्रचारप्रसार गरिएको, नगर क्षेत्रका सेवा प्रदायक संस्थाहरूसम्म पुग्ने सडकहरूको ५०% स्तरोन्नति र कालोपत्रे कार्य सम्पन्न गरिएको र बाँकी कार्यकालभित्र सबै मुख्य सडकहरुको स्तरोन्नति गरिसक्ने योजना रहेको छ ।
नगरकोट–कमलविनायक सडक खण्डको पिच गर्ने कार्य वैशाखको अन्तिम वा जेठ दोस्रो सातासम्म सक्ने तयारीमा छौं ।

कृषि क्षेत्रको सवालमा चाहिँ के कस्ता योजना छन् ?
चाँगुनारायणभित्र खुला क्षेत्रमा नयाँ शहर निर्माण र कृषिमा दीर्घकालीन योजना समेत अगाडि बढाइनेछ । ‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार–समृद्ध चाँगुनारायणको मूल आधार’ भन्ने नारालाई केन्द्रमा राखेर कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । नगरभित्रका कृषकहरूलाई नगरकोट भ्रमण वर्षसँग जोडेर उत्पादनको बजारीकरणको प्रयास गरिएको छ ।
महिला, दलित र अन्य विपन्न समुदाय सशक्तीकरणका पहलहरू पनि भएका छन् ?
नगरपालिकाले दलित, महिला र विपन्न समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षमता विकास, रोजगारी, शीप वृद्धिका लागि सामाजिक विकास शाखामार्फत कार्यक्रमहरु सञ्चालन गरिएका छन् । मूल्यांकन प्रणालीमार्फत प्रभावकारी कार्यक्रमहरुलाई निरन्तरता र सुधारका कार्यक्रम अघि बढाइएका छन् । विपन्न र पिछडिएका वर्गलाई प्राथमिकताका साथ समावेश गरी आर्थिक विकासमा योगदान पुर्याउने कार्य भइरहेको छ ।
युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धनका योजनाहरु चाहिँ कस्ता छन् ?
युवा उद्यमशीलता प्रवद्र्धनका लागि युवा लक्षित कार्यक्रमहरु सञ्चालन भएका छन् । युवा व्यवसायीहरुलाई सहजीकरण र आर्थिकरुपमा सुदृढ बनाउने कार्यहरु अगाडि बढाइएको छ । युवाहरुलाई देशभित्रै राख्ने अझ नगरभित्रै राख्ने योजनाहरु पनि कार्यान्वयनमा छन् ।
|
युवा उद्यमशीलता प्रवर्द्धन : युवा लक्षित स्वरोजगार तथा उद्यमशीलता कार्यक्रम । आर्थिक पारदर्शिता : खर्च सार्वजनिक गर्ने र नियमनकारी निकायको सुझाव समेट्दै कार्य । भविष्य योजना : बाँकी कार्यकालमा नीतिगत, वैधानिक र दिगो विकासमा केन्द्रित हुँदै तीव्र गतिमा काम अघि बढाउने प्रतिबद्धता । नागरिकलाई सन्देश : सामूहिक हित र सहभागिताविना समृद्धि सम्भव छैन, सबैले सकारात्मक सोच र जिम्मेवारी बोकेर अघि बढ्न आह्वान । आफ्नो मूल्याङ्कन : व्यक्तिगत रूपमा ३०% सन्तुष्टि, सामाजिक रूपमा ५१% सन्तुष्टि । |
नगरकोट भ्रमण वर्ष २०८२ केकालागि हो ? भित्री अपेक्षा के हो ?
पर्यटन प्रवद्र्धन नगरको आर्थिक समृद्धिको मुख्य आधार हो भन्ने बुझेर नगरकोट भ्रमण वर्ष २०८२ को घोषणा गरिएको हो । समुदाय, संघ–संस्था, सहकारी, टोल विकास समिति, विद्यालय आदिलाई भ्रमण वर्षसँग जोडेर समग्र विकासमा ल्याउने लक्ष्य हो । समुदायको सामूहिक अपनत्व र सहभागिताविना दिगो र सफल विकास सम्भव नभएको अनुभवका आधारमा सबैलाई समेट्ने प्रयास गरेका हौं । नगरकोट हिमाल र सूर्योदय हेर्ने ठाउँ मात्र होइन भन्ने कुरालाई पुष्टि गर्ने जे जस्ता आधारहरु छन्, तिनको ब्रान्डिङ पनि भ्रमण बर्षले गर्छ भन्ने अपेक्षा गरेका छौं ।
पछिल्लो तीन बर्षमा आफूले गरेको काम र परिणाममा कति सन्तुष्ट हुनुहुन्छ ?
व्यक्तिगत रूपमा ३० प्रतिसत मात्र सन्तुष्ट छु । सामाजिक हिसाबले ५१ प्रतिसत सन्तुष्ट छु । भ्रमण वर्ष मार्फत् सामूहिक सहभागिता र अपनत्व गराउने प्रयास भइरहेको छ । आफ्नो स्वार्थका लागि होइन, सामूहिक हित र समृद्धिका लागि काम गर्दै आएको छु । भविष्यमा ८० प्रतिसत सम्मको सन्तुष्टि प्राप्त गर्ने लक्ष्यसहित निरन्तर लागिपरेको छु ।
अन्त्यमा, चाँगुनारायण नगरका आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
हामीले गर्ने सबै काम सामूहिक हितका लागि हो । सामूहिक अपनत्व र सहभागिता विना कुनै पनि विकास उपलब्धिमूलक बन्न सक्दैन । चाँगुनारायण नगरपालिकाका सबै नागरिकले आफ्नो जिम्मेवारी बोध गरेर सहभागिता जनाए मात्र समृद्धि सम्भव छ । हामी सबैले सकारात्मक सोच, सक्रिय सहभागिता र जिम्मेवार भावनाले अघि बढ्न जरुरी छ ।
चाँगुनारायण स्मारिका–२०८२ बाट साभार


