images
images

सात हाइकिङ रुट

चाँगुनारायण–नगरकोट पदमार्गहरू : इतिहास, प्रकृति र पर्यटनको जीवित यात्रापथ


  • 475
    SHARES
  • २०८२ पौष ३० गते बुधबार

    चाँगुनारायण–नगरकोट पदमार्गहरू : इतिहास, प्रकृति र पर्यटनको जीवित यात्रापथ

    भक्तपुर जिल्लाको कान्छो नगरपालिका चाँगुनारायण, इतिहास, संस्कृति र प्रकृतिको अद्वितीय संगम हो । काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लासँग सिमाना जोडिएको यस नगरपालिकाको नाम, युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृत प्राचीन चाँगुनारायण मन्दिरबाट राखिएको हो–जसले हजारौं वर्षदेखिको सांस्कृतिक गौरव बोकेको छ ।

    नौ वडामा फैलिएको चाँगुनारायण नगरपालिका, सरस्वतीखेलदेखि ताथलीसम्म फैलिएको हरित क्षेत्र, सफा वातावरण र सुन्दर दृश्यावलीले भरिपूर्ण छ । यहाँ समथर भूभागदेखि हरियाली पहाडसम्म विविध भूगोल पाइन्छ, जसले कृषि र पर्यटन दुबैको लागि यसलाई एक अनुपम गन्तव्य बनाएको छ ।

    धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले भरिपूर्ण यस नगरमा चाँगुनारायण मन्दिर, त्रिशुल डाँडा, नगरकोट क्षेत्र, मुहानपोखरी, महादेव पोखरी, बोजिनी ड्याम, रानी झुलाजस्ता स्थलहरू प्रमुख पर्यटकीय आकर्षण हुन् । यहाँ दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन हुन्छ । स्वच्छ हावा, हरियाली जंगल, मनोरम हिमशृंखलाको दृश्य र शान्त धार्मिक वातावरणले यो नगरलाई प्राकृतिक स्वर्गझैँ बनाएको छ ।

    हालका वर्षहरूमा यहाँ पदयात्रा (हाइकिङ) गर्नेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । व्यस्त शहरको कोलाहलबाट केही समय टाढा बस्न चाहनेहरूका लागि चाँगुनारायणको पदमार्गहरू विशेष आकर्षणका केन्द्र बनेका छन् । जंगलको शितल हावामा रमाउँदै, चराचुरुंगीका मधुर आवाजसँगै शारीरिक र मानसिक स्वास्थ्य सन्तुलन खोज्नेहरूका लागि यो नगर एक आदर्श गन्तव्य बन्न पुगेको छ ।

    चाँगुनारायण नगरभित्र रहेका पदमार्गहरू प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, र हिमालय पर्वत श्रृंखलाको दृश्यावलोकनका लागि प्रसिद्ध छन् । जसको लागि काठमाडौंबाट नजिकै रहेको चाँगुनारायण र नगरकोट क्षेत्र सहज र सरल गन्तव्य बनिसकेको देखिन्छ । यो ठाँउ पदयात्रा (हाइकिङ) प्रेमीहरूका लागि अत्यन्तै उपयुक्त गन्तव्य हो । 

    राणाकाल भन्दा अगाडिदेखि सिन्धुपाल्चोक, काभ्रेपलान्चोक जिल्लाका धेरै मानिसहरु शहर आउँदा प्रयोग गर्ने पदमार्गहरू यतिबेला लोप भइसकेका छन् भन्दा फरक नपर्ला । त्यसको संरक्षण गर्दै कतिपय स्थानमा पुनःनिर्माण गर्न चाँगुनारायण नगरपालिका र आसपासका स्थानीय सरकार एकजुट हुनुपर्ने देखिन्छ । भौतिक विकासको मेरुदण्डको रुपमा रहेको पक्की सडक विस्तारले प्राकृतिक मार्गको विनाश हुदाँ स्वतः पदमार्ग लोप हुने वा नासिने क्रम भएकोल त्यसको सक्दो संरक्षण समेत आवश्यक छ । 

    सडक विस्तारको कारणले पदमार्ग नै सडक भएपछि विगतमा गोरेटो वा घोरेटोमार्फत यात्रा गर्ने परम्परा अब पक्की सडकमै तय गर्नु पर्ने अवस्था समेत रहेको छ । प्रकृति र वातावरणसँग रमाउदैं गरिने यात्रा मोटरको तीव्र ध्वनी सुनेर गर्नु पर्दा पर्यटकीय हिसाबले त्यो सकारात्मक भने होइन । चाँगुनारायणमा हाल केही स्थानमा नयाँ पदमार्ग निर्माण गरिएपनि त्यसको उचित संरक्षण हुन सकिरहेको देखिँदैन । विगतमा नेपाली भन्दापनि बाह्य पर्यटकको पदयात्राले नगरकोट क्षेत्रका आसपासका गाउँहरूमा चहलपहल देखिने गरेको थियो । 

    चाँगुनारायण नगरपालिका र नगरकोट क्षेत्र आसपासमा रहेका पदमार्गहरू प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र हिमालय पर्वत श्रृंखलाको दृश्यावलोकनका लागि प्रसिद्ध छन् । केही प्रमुख पदमार्ग यस्ता छन् ।

    १. नगरकोट–चाँगुनारायण–भक्तपुर पदमार्ग 
    यो पदमार्ग प्राकृतिक, धार्मीक र सांस्कृति हिसाबले निकै उत्कृष्ट रहेको छ । यसको दूरि करिब १८ किलोमिटर छ । नगरकोट बजारबाट गड्गडे, सनराइज, तेलकोट, त्रिशुलडाडाँ, चाँगु मन्दिर, झौखलेहुदैं भक्तपुर नगरक्षेत्र प्रवेश गर्न सकिन्छ । करिब ६ घण्टा समयमा यो दूरी पार गर्न लाग्न सक्छ । यो मार्गमा ग्रामीण जीवनशैली, हरियाली वन, र हिमालयन दृश्यहरूको आनन्द लिन सकिन्छ । 

    २. नगरकोट–कात्तिके –गैरीगाँउ–नाल्दूम–नगरकोट पदमार्ग
    यो पदमार्ग भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको वडा नं.६ नगरकोटबाट सुरु हुदैं काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको कातिके बजार निस्किएर काभ्र्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १ ढाडागाउँ, गैरिगाउँ हुदैं सोही नगरको वडा न २ को नाल्दुमको सुन्दर तामाङ्ग बस्ती हुदैं नगरकोट बजार क्षेत्र आउन सकिन्छ । 

    करिब १२ किलोमिटर दूरी रहेको यो पदमार्ग केही दूरी जंगल यात्रा, हिमाली दृश्य हेर्दै स्थानीय तामाङ परम्पराका साथै ग्रामीण जनजिवनको आनन्द लिन समेत सकिन्छ । पदयात्रीहरुले स्थानीय उत्पादनहरु खरिद समेत गर्न पाउनेछन् । करिब ४ घण्टामा यो दूरी पार गर्न सकिनेछ । यो पदमार्ग नगरकोटको वरिपरि रहेको छ र यसले हिमालय पर्वत श्रृंखलाको ३६० डिग्री दृश्य प्रदान गर्दछ । 

    ३ नगरकोट–टावर पदमार्ग
    नगरकोट बजारबाट सुरु हुने यो पदमार्ग २२०० मिटर उचाइमा रहेको पदमार्गमा माथि टावरमा पुगेपछि वृत्ताकार रुपमा वरपरका दृश्य अवलोकन गर्न सकिन्छ । जहाँबाट काठमाडौं उपत्यका, जुगल हिमाल, गौरीशंकर हिमश्रृंखला र सुन्दर गाउँ बस्तीहरूको दृश्य अवलोकन गर्न सकिन्छ । करिब ४ किलोमिटर दूरी पार गर्न समय २ घण्टा लाग्छ । 

    ४ नगरकोट–धुलिखेल–नमोबुद्ध पदमार्ग 
    नगरकोट बजारबाट टावर हुँदै बनेपा—धुलिखेल बजारबाट काभ्रे भञ्ज्याङ्ग निस्किएर नमोबुद्धसम्म पुग्ने यो पदमार्ग बाह्य तथा आन्तरिक पर्यटकहरुको रोजाइको मार्ग हो । यो पदमार्ग ग्रामीण क्षेत्र, हरियाली वन तथा हिमाली दृश्यको लागि प्रसिद्ध छ । यो मार्गमा परम्परागत रुपमा रहेका ब्राह्मण, नेवारी, तामाङ्ग गाउँहरू र कृषि प्रणालीको अवलोकन गर्न सकिन्छ । करिब २७ किलोमिटर दूरीको यो पदमार्ग पार गर्न समय भने १० घण्टा लाग्न सक्छ । 

    ५. नगरकोट–जहरसिंह पौवा–शिवपुरी राष्ट्रिय निकुञ्ज पदमार्ग
    प्राकृतिक रुपले भरिपूर्ण यस पदमार्गको यात्राबाट यात्रीले एउटा फरक अनुभूति प्राप्त गर्न सक्छन् । हरियो वन, सेता हिमाल र स्थानीय जीवनशैलीको अनुभव गर्दै यात्रा गर्न सकिन्छ । करिब १८ किलोमिटरको यो दुरी पार गर्न ७ घण्टा समय लाग्न सक्छ । विगतदेखि हालसम्मपनि यो मार्गमा पदयात्रा गर्ने विदेशीहरूको चाप घटेको छैन । यहाँबाट मनास्लु, लाङटाङ, गणेश हिमालका दृश्य आखाँमा कैद गर्न सकिन्छ । 

    ६. मुहान पोखरी–मजुवा महादेव पोखरी–नगरकोट पदमार्ग 
    चाँगुनारायण नगरपालिका तत्कालिन नगरप्रमुख सोम प्रसाद मिश्रको पहलमा यो पदर्मागमा सिँढी बनाउने काम भएपछि यसले चर्चा पाएको हो । मुहान पोखरीबाट वनजंगल र झरनाको आनन्द लिदै यसमार्गमा पदयात्रा गर्न सकिन्छ । करिब ५ किलोमिटरको यात्रा पछि महादेव पोखरी पुगिन्छ । यहाँबाट करिब ४ किलोमिटरको यात्रा गरेपछि नगरकोट बजार पुग्न सकिन्छ । यो मध्यम खालको पदमार्ग हो । ४ घण्टामा यो दूरी पार गर्न सकिन्छ । यो मार्गको दूरी ९ किलोमिटर रहेको छ । 

    ७. सुडाल बोजिनी ड्याम–टावर नगरकोट पदमार्ग  
    चाँगुनारायण नगरपालिका वडा नं. ८ मा रहेको मानव निर्मित बोजिनी ड्यामबाट सुरु गर्न सकिने यो पदमार्गको यात्रा करिब ४ किलोमिटर दुरीको रहेको छ । करिब २ घण्टाको यात्रापछि नगरकोट टावर पुगिन्छ ।

    पदयात्रा जाँदा के लैजानै  ? 
    यदि सम्भव भएमा स्थानीय गाइडको सहायता लिएर पर्दयात्रा गर्नु राम्रो हुनेछ । जसले मार्गदर्शन र स्थानीय जानकारी प्रदान गर्न सहज हुनेछ भने यात्रा थप रमाइलो हुने छ । पदयात्रा गर्दा पर्याप्त पानी, सामान्य खाजा र आवश्यक सामग्रीहरू साथमा लैजानु पर्दछ । सामान्य औषधी समेत लिएर हिँड्नु पर्दछ । मार्गमा यात्रा गर्दा स्थानीय धर्म, संस्कृतिको सम्मान गर्नुहोस् । वातावरण सफा बनाउन जथाभावी फोहर नगर्नुहोस् । 
    स्रोत : स्थानीय वासिन्दा र पदयात्राकर्मीहरू 

    (लेखक ढकाल हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका उपाध्यक्ष हुनुहुन्छ ।)

    चाँगुनारायण स्मारिका २०८२ बाट साभार

     


    हेमराज ढकाल
    हेमराज ढकाल हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका उपाध्यक्ष हुनुहुन्छ ।


    images

    Logo