images
images

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द


  • 180
    SHARES
  • २०८२ माघ १२ गते सोमबार

    आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

    लमजुङ । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज  बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

    सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “सो स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।”

    नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गराई आवगमन भइरहेको उनको भनाइ छ । यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीसहर र साथै हिमाली जिल्ला मनाङको स्थानीयसमेत यही सडक हुँदै आवतजावत गर्ने गर्दछन् ।  

    सो स्थानमा विसं २०७८ असार १ गते र २०७८ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक रोकथामको लागि सङ्घीय सरकारले ११ करोड १९ लाख बजेटमा रोकथाम कार्य तथा सो स्थानमा ४०० मिटर जति सडक कालोपत्रे हुन लागेको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीले भने, “यस सडकमा कालोपत्रे गर्नको लागि काम भइरहेको छ, यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ ।”  


    images

    Logo