काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा श्रीलंकामाथि जित हात पारेपनि पाकिस्तान सुपर एटबाटै बाहिरिएको छ । श्रीलंकालाई पाँच रनले पराजित गरेपनि पाकिस्तान रनरेटमा पछि परेपनि सेमिफाइनलमा पुग्न नसकेको हो ।
समान तीन अंक भएपनि रनरेटमा अघि रहंदै न्यूजिल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेसंगै सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । यसअघि इंग्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनल पुगेका थिए । आज हुने सुपर एटको भारत–वेस्ट इन्डिज बीचको खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउँने छ ।
शनिबारराती श्रीलंकाको पल्लेकेलेमा खेलिएको सुपर–८ को खेलमा पाकिस्तानलाई सेमिफाइनल पुग्न श्रीलंकालाई १४७ रन वा सोभन्दा कममा रोक्नुपर्ने थियो, तर बलरहरू त्यसमा असफल भएका थिए । पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याउँदै श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो।
टोलीले खेल जित्न नसके पनि उसको ब्याटिङ पाकिस्तानका लागि घातक सावित भयो। यस नतिजासँगै सुपर–८ को समूह–२ बाट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगे । पाकिस्तान र श्रीलंका प्रतियोगिताबाट बाहिरिए ।लक्ष्य पछ्याउन उत्रिएको श्रीलंकाली टोलीको सुरुआत कमजोर रह्यो।
पथुम निसांका ३ रनमै आउट भए भने कामिल मिशारा २६ रनमै सीमित भए। श्रीलंकाली कप्तान दसुन शनाकाले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै ३१ बलमा अविजित ७६ रन बनाए। शनाकाले १९औँ ओभरमा १८ रन र अन्तिम ओभरमा २२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि २८ रन आवश्यक थियो। शनाकाले तीन छक्का र एक चौका प्रहार गरे पनि अन्तिम दुई बलमा ठूलो सट खेल्न सकेनन्। पाकिस्तानका तर्फबाट अबरार अहमदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २१२ रन बनाएको थियो। साहिबजादा फरहानले ६० बलमा शानदार शतक प्रहार गरे भने फखर जमानले ४२ बलमा ८४ रनको विस्फोटक पारी खेले। दुवैबीच पहिलो विकेटका लागि १७६ रनको साझेदारी भयो, जुन टी–२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो।
तर यी दुईबाहेक पाकिस्तानका अन्य ब्याटर पूर्ण रूपमा असफल रहे। कप्तान सलमान आगा र मोहम्मद नवाज खाता नखोली आउट भए भने शादाब खानले मात्र २ रन बनाए। श्रीलंकाका तर्फबाट दिलशान मदुशंकाले ३३ रन दिएर ३ विकेट लिए भने दसुन शनाकाले २ विकेट लिए।
दक्षिण अफ्रिकाले सुपर–८ चरणमा लगातार दुई खेल जित्दै ४ अंकसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अर्कोतर्फ जिम्बाब्वे लगातार दुई हारपछि नकआउट चरणको प्रतिस्पर्धाबाट बाहिरिएको छ। आज दक्षिण अफ्रिका र जिम्बाब्वेबीच दिनको पहिलो खेल हुनेछ।
भारत र वेस्ट इन्डिज दुवैसँग सुपर–८ मा एक–एक जित र एक–एक हार रहेको छ। यस्तो अवस्थामा आज साँझ कोलकातामा हुने भारत–वेस्ट इन्डिज खेल नकआउट सरह हुनेछ। विजेता टोली सेमिफाइनलमा पुग्नेछ भने पराजित टोलीको यात्रा यहीँ समाप्त हुनेछ।


