काठमाडौं । कोरोना संक्रमण फैलिएर मानिसको मृत्यु समेत हुन थालेपछि बैंकिङ सेवामा व्यापक कटौतस् गरिने भएको छ । नेपाल बैंकर्स संघले शुक्रबारदेखि लागु हुनेगरी बैंकिङ सेवामा कडाई सुरु गरेको हो ।
नेपाल बैंकर्स संघको बिहीबार बसेको भर्चुअल बैठकले बैंकहरुबाट अब ५ प्रकारका सेवा मात्रै उपलब्ध गराउने निर्णय गरेको छ । अब रकम जम्मा गर्ने र झिक्ने, आईपीएस, आरटिजीएस र चेकमार्फत् रकम ट्रान्सफर गर्ने, रेमिट्यान्स सेवा उपलब्ध गराउने र वैदेशिक व्यापारका लागि आवश्यक एलसी खोल्ने काम मात्रै बैंकबाट हुनेछ । ऋणसम्बन्धी कारोबार अब ठप्प हुनेछ ।
खुद्रे ग्राहकलाई प्रवेश निषेध
सेवा सीमित गर्दैगर्दा भिडभाड घटाउन भन्दै बैंकले साना ग्राहकसँग कारोबार नगर्ने योजना बनाएको छ । यसअनुसार ५० हजार भन्दा सानो रकम अब बैंकमा जम्मा गर्न सकिने छैन । २/४ हजार रुपैयाँ लिएर बैंक जाने निहुँमा सर्वसाधारण बाहिर निस्किन थालेपछि बैंकहरुले सानो कारोबार नगर्ने निर्णय गरेको हो ।
संघले अत्यावश्क अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्न अनुरोध गरेको छ। डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न आग्रह समेत गरेको छ ।


