काठमाडौं । गोदावरीमा बनेको नेपालकै सबैभन्दा ठूलो सभाहलको औपचारिक उद्घाटन भएको छ । ३ हजार सिट क्षमताको ‘गोदावरी सनराइज’ सम्मेलन केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारबाट ओलीले बटम थिचेर सो सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीको शपथ लिएर बालुवाटार फर्केलगत्तै ओलीले सो सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् ।
यस्तो छ गोदावरी सनराइज
गोदावरी नगरपालिका वडा नम्बर ३ मा ३ हजार जना व्यक्ति एकैपटक बसेर सभा तथा सम्मेलन गर्न सम्भव केन्द्र हो । यो सम्मेलन केन्द्र अन्तराष्ट्रिय स्तरको सभाको लागि उपयुक्त रहेको बताइएको छ । उदाउँदो सूर्य आकारमा निर्माण गरिएको उक्त सम्मेलन केन्द्रको नाम नै गोदावरी सनराइज बनाइएको हो ।

यो सम्मेलन केन्द्रको निर्माणका लागि २०७६ मंसिरमा सम्झौता भएको थियो । यसको निर्माण गर्ने जिम्मा केसी समानान्तर जेभीले गरेको हो ।
४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको यो केन्द्रको ११ रोपनी १४ आनामा सभाहल तथा १३ रोपनी १ आनामा पार्किङ रहेको छ । यो केन्द्रको उत्तर र दक्षिणमा प्रवेशद्वार रहेको छ । सो हलमा विशिष्ठ कक्ष, सहायता कक्ष, अनुवाद कक्ष समेत रहेका छन् । सबै कोठाहरु ध्वनी अवशोसित, भुकम्प प्रतिरोधी र अपांगमैत्री रहेको छ ।
केन्द्रको मुख्य हल २ तल उचाई बराबर रहेको छ । भवन परिसरमा हरियाली क्षेत्र, मनमोहक बगंैचा समेत रहेको छ । केन्द्रमा जानको निम्ति फराकिलो सडक र सडकको दायाँबायाँ ट्याक्सी तथा र गाडी पार्किङ रहेको छ ।

उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सम्मेलन केन्द्रले देशको आकांक्षालाई पूरा गरेको बताए । उनले जसरी उदाउँदो सूर्य उदाउँदै जान्छ, त्यसैगरी हाम्रो अर्थतन्त्रले समेत उदाउँदै र न्यानो छर्दै बताए । उनले ५ हजार क्षमताको लुम्बिनी बौद्ध सभाहल तथा ध्यान केन्द्र समेत निर्माण कार्य सम्पन्न हुन लागिएको उनले बताए ।


