images
images

एक खर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक


  • 143
    SHARES
  • २०८३ श्रावण ६ गते बुधबार

    एक खर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । 

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत रु एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।  बोलकबोल आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ ।

    सूचनाअनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ ।

    बोलकबोलमा न्यूनतम रु १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एउटै सहभागीले फरक/फरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन् ।

    नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

    केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ । समान ब्याजदरमा माग बढी भए ‘प्रो-राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ ।

    बैंकले निक्षेप संकलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ । यसमा संकलित रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ । साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी (प्रि-म्याच्योर) सुविधा नहुने स्पष्ट गरिएको छ ।


    images

    Logo