भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ । विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो ।
जहाजनै उडान र अवतरण गरेर ‘क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्यकार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।
यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भएपनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए । उनले भने, “हामी अहिले पनि क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौं ।”
न्यौपानेका अनुसार विद्यमान अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै काम सुरु हुनेछ । विमानस्थलमा जडान भएका उपकरणले काम गरेको नगरेको, टावरको निर्देशन विमान चालकले सुनेनसुनेको लगायतका कुरा क्यालिब्रेसन फ्लाइटबाट परीक्षण हुन्छ । आईसीपी टु निर्माणको जिम्मेवारी थाइल्यान्डको एरोथाई कम्पनीले पाएको छ ।
कोरोनाभाइरस सङ्क्रमणबीच पनि विमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० भन्दा बढी नेपाली कामदार एवं प्राविधिक कार्यरत छन् । उनीहरूलाई कार्यक्षेत्रमै रहने व्यवस्था गरी काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । गोरखापत्रबाट


