नुवाकोट । नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि पहिरोले पुरिएको घरबाट ११ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ ।
उद्धार हुनेमा विदुर नगरपालिका–१० की अन्दाजी ५५–५६ वर्षीया चन्डिका श्रेष्ठ रहेकी छन् । बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिएकी उनको शनिबार जीवितै उद्धार गरिएको हो ।
नुवाकोटका प्रहरीका अनुसार पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसको आवाज आएको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले घरको उत्खनन गर्दा चन्डिका श्रेष्ठलाई जीवितै फेला पारेको हो ।
उद्धारका क्रममा श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन् । उनलाई तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको छ ।
भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोले बेत्रावती क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । त्यसक्रममा घरहरू पुरिनुका साथै ठूलो जनधनको क्षति भएको थियो ।
बाढीपछि ११ दिनसम्म पहिरोभित्र पुरिएर पनि श्रेष्ठ जीवितै भेटिनुले स्थानीय बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आश्चर्य र खुसी तुल्याएको छ ।



