images
images

बाढी–पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)


  • 115
    SHARES
  • २०८३ भाद्र २१ गते आइतबार

    बाढी–पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

    काठमाडौं । पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

    काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानी र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ । प्रहरीले काठमाडौं–धादिङ सडकखण्ड तथा कान्ति लोकपथमा यात्रा गर्ने यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

    धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न स्थानमा पनि पहिरोले यातायात प्रभावित भएको छ । बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर र गजुरी गाउँपालिका–२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, परेवा भिर र ज्वाङखोलामा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

    बीपी राजमार्गको काभ्रे खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारी सञ्चालन गर्न रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकनका आधारमा सवारी सञ्चालन गर्न दिइने जनाइएको छ ।

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ । यस्तै, कर्णाली प्रदेशअन्तर्गत मुगु–गमगढी सडकखण्ड तथा कालीकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था थप बिग्रिन सक्ने भएकाले यात्रा अघि सम्बन्धित सडकखण्डको पछिल्लो जानकारी लिन र जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    1

    2


    images
    images

    Logo