मोरङ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको भत्किएको नहरको संरचना पुनर्निमाण सकिएको छ । ३ वर्ष अघि आएको बाढीका कारण क्षतिग्रस्त बनेको चतरा मूल नहर अन्तर्गत रहेको मोरङस्थित लोहन्द्रा खोला क्षेत्रको नहरको पुनर्निमाण भएको हो ।
सो बाढीले वरियाती शाखा नहर, नयाँपट्टि शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहर पानी उपलब्ध हुन सकेको थिएन । निर्माण सम्पन्न भएसँगै बैशाख अन्तिम सातादेखि पानी सञ्चालन जनाइएको छ ।
लोहन्द्रा खोला शाखा नहरका जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले नहर सञ्चालन हुने खबरले आफूहरु हर्षित भएको बताउँदै यसले आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य हुने बताए ।
उनले भने, ‘नहर सञ्चालन हुने कुराले हामी हर्षित भएका छौँ, तर चार वर्षदेखि बन्द रहेका नहरमा अहिले घाँस, झार, दलकच्चु र माटोले पुरिएको अवस्था छ, खेतमा भरपूर पानी जान सक्ने अवस्था छैन, त्यसैले नहर सफा गर्नु अत्यन्त जरुरी छ ।’
पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो संरचना निर्माणमा निकै चासो देखाएको थियो । आयोजनको निरीक्षणका लागि सिँचाइ विभागबाट पटकपटक निरीक्षण एवं अवलोकन हुँदै आएको सुनसरी–मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले बताए।
संरचना भत्किएको लोहन्द्रा खोलादेखि पूर्वतर्फ छवटा शाखा नहरबाट करिब १० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने गरेको थियो । संरचना निर्माणका लागि आशिष/स्वामीनारायण/आशीर्वाद जेभी धरानले २९ करोड ९७ लाख ५६ हजार रुपैयाँमा बोलपत्र हात पारेको थियो । २०७६ फागुन ३० गते सम्भौता गरेर निर्माण शुरु गरे पनि कोरोना महामारीले गत वर्ष काम प्रभावित भएको थियो ।
पछिल्लोपटक म्याद थप भएसँगै पुल निर्माण गर्ने अवधि आगामी २०८० भदौ ३० सम्म रहेको छ भने नहरको संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समय रहेको छ ।


