रसुवा, ९ असोजः भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित तीन जनप्रतिनिधिको एक महिनासम्म कुनै खबर नआएपछि परिवारले काजकिरिया सुरु गरेका छन्।
गत भदौ १० गतेको बाढीमा गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामा, वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ बेपत्ता भएका थिए। स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले एक महिनादेखि निरन्तर खोजी गरे पनि उनीहरूको अवस्था अझै अज्ञात छ।
खोजीकार्यबाट कुनै जानकारी नआएपछि परिवारमा उनीहरू जीवितै भेटिने आशा क्रमशः कमजोर बन्दै गएको छ। यही पीडाबीच परिवारले परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन्।
बेपत्ता तीनै जना स्थानीय क्षेत्रमा सक्रिय र लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित प्रतिमा लामाले नर्सिङमा स्नातक अध्ययन पूरा गरेकी थिइन्। विद्यार्थी जीवनदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी राजनीतिमा आउनुअघि राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडीसमेत थिइन्।
वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ सामाजिक काममार्फत स्थानीयवासीबीच परिचित थिए। वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ पनि लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय थिए।
गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले एकैपटक तीन जना जनप्रतिनिधि बेपत्ता हुँदा सिङ्गो गाउँपालिका गहिरो शोकमा डुबेको बताए। उनका अनुसार पालिकाले ठूलो र अपूरणीय क्षति व्यहोरेको छ।
भदौ १० गते गोसाइँकुण्ड गाउँपालिका–२ को घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीले बजार, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। बाढीमा गाउँपालिकाका कर्मचारी, शिक्षक–शिक्षिका र बालबालिकासहित थुप्रै व्यक्ति बेपत्ता भएका छन्।
बाढी गएको एक महिना बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलाग्दा पीडित परिवारको पर्खाइ शोकमा बदलिँदै गएको छ। खोजीकार्य जारी रहे पनि भोटेकोशी बाढीको पीडाले सिङ्गो रसुवालाई अझै छाडेको छैन।



