images
images

राष्ट्र बैंकले बढायो विदेशी मुद्रा सटही सुविधाको सीमा, उपचारका लागि अब ३० हजार डलरसम्म


  • 86
    SHARES
  • २०८३ आश्विन २० गते मंगलबार

    राष्ट्र बैंकले बढायो विदेशी मुद्रा सटही सुविधाको सीमा, उपचारका लागि अब ३० हजार डलरसम्म

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटहीसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गर्दै विभिन्न प्रयोजनका लागि उपलब्ध हुने विदेशी मुद्रा सटहीको सीमा बढाएको छ ।

    राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै आयात, सेवा भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा मर्मत, स्याटेलाइट सेवा, भारतमा हुने भुक्तानीलगायत विभिन्न कारोबारमा विदेशी मुद्रा सटही तथा भुक्तानीको सीमा बढाएको हो ।

    संशोधित व्यवस्थाअनुसार हवाईजहाजका इन्जिन वा पार्टपुर्जा विदेशमा लगेर मर्मत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थामार्फत गर्न सकिने अग्रिम भुक्तानीको सीमा १ लाख अमेरिकी डलरबाट बढाएर ५ लाख डलर पुर्‍याइएको छ ।

    त्यस्तै, विदेशमा उपचार गर्न जाने नेपाली नागरिकले वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । यसअघि यस्तो सुविधा वार्षिक १६ हजार डलरसम्म मात्र थियो ।

    बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउन सक्ने विदेशी मुद्रा सटहीको वार्षिक सीमा पनि बढाइएको छ । यसअघि १५ हजार अमेरिकी डलर रहेको सीमा अब ३० हजार डलर पुर्‍याइएको राष्ट्र बैंकले जनाएको छ ।

    यसैगरी, विदेशी सेवा प्रदायकसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिने नेपाली दूरसञ्चार सेवा प्रदायकले सेवा शुल्कबापत बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा १ लाख अमेरिकी डलरबाट बढाएर ५ लाख डलर पुर्‍याइएको छ ।

    नियामक निकायबाट सम्झौता, सहमति वा सटही सिफारिस प्राप्त भएका कारोबारमा प्रतिपटक उपलब्ध गराउन सकिने विदेशी मुद्रा सटहीको सीमा पनि १५ हजार डलरबाट बढाएर ३० हजार डलर पुर्‍याइएको छ ।

    राष्ट्र बैंकले नियामक निकायको सिफारिस आवश्यक पर्ने निश्चित प्रकृतिका भुक्तानीमा समेत विदेशी मुद्रा सटही तथा भुक्तानीको सीमा बढाएको जनाएको छ । संशोधनसँगै व्यवसायी, सेवा प्रदायक तथा सेवाग्राहीलाई विभिन्न अन्तर्राष्ट्रिय कारोबारका लागि विदेशी मुद्रा व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।


    images
    images

    Logo