images
images

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला, लामो दूरीमा दुई चालक अनिवार्य


  • 208
    SHARES
  • २०८३ आश्विन २० गते मंगलबार

    दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला, लामो दूरीमा दुई चालक अनिवार्य

    काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ ।

    यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायहरूको उच्चस्तरीय बैठकले देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ ।

    लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धतापछि व्यवसायीहरू टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।

    बैठकले यात्रुको सुरक्षा तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने निर्णय पनि गरेको छ । यस्तै, टिकट काउन्टरमा कार्यरत कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

    दसैँ अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । अग्रिम टिकट बुकिङ नखुल्दा यात्रुमा देखिएको अन्योल असोज २३ गतेदेखि बुकिङ खुलेसँगै हट्ने अपेक्षा गरिएको छ ।

    चाडपर्वको समयमा तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने तथा टिकटमा अनियमितता गर्नेहरूमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ । बसपार्क तथा टिकट काउन्टरमा हुने यात्रुको चाप व्यवस्थापनका लागि सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।


    images
    images

    Logo