भदौ महिनाको अन्त्यतिर एकदिन अफिसमा पेशल दाइ (बरिष्ठ पत्रकार पेशल आचार्य)ले हाम्रो टिम ‘शे फोक्सुन्डो’ ट्रेकिङ जाने निर्णय सुनाउनु भयो । उहाँको निर्णय मलाई अप्रत्यासित तर प्रिय लागो ।
कहिल्यै ट्रेकिङ नगरेको मलाई ‘शे फोक्सुन्डो’ जाने कुराले एकातिर रोमांचित बनायो भने अर्कोतिर सकिदैन भन्ने कुराले पनि छोप्न थालो । जम्माजम्मी हाइकिङको सामान्य अनुभव थियो, मेरो । त्यसैकारण ‘शे फोक्सुन्डो’का अनुभवीले बनाएका भिडियो हेर्न थालेँ । भिडियोले म झनै दोधारे भएँ । सक्दिन होला भन्ने कुराले जित्न थालो ।
तर पेशल दाइले मेरो यो कुरा सुन्न मान्नु भएन । मैले ‘एस’ वा ‘नो’ केही भन्नै परेन, हिड्ने दिन आयो । हामीले ठमेलको काला पत्थर र भाटभाटेनीमा गएर आवश्यक सामाग्री खरिद गर्यौं । दाइले सुर्खेतसम्मको जहाजको टिकट काटेरै छोड्नु भयो ।
टिकट काटेपछि मात्रै मैले ‘शे फोक्सुन्डो’ ट्रेकिङ जाने टुंगो लागेको कुरा श्रीमतीजीलाई सुनाएँ । उनले ‘हेडलाइन’ सुन्ने वित्तिकै प्रतिक्रिया जनाउन थालिन् । राजधानी छोडेर जति हिड्दा पनि कहिल्यै प्रतिक्रिया नजनाउने उनी यस पटक भने सकारात्मक हुन सकिनन् । ट्रेकिङ, त्यसमाथि ‘शे फोक्सुन्डो’ ? खासमा म हिडेर जाने भन्ने कुरा उनलाई हजम भएन । अफ्टेरो ठाउँ, जान आउन नै गाहे, हिड्न नसक्ने, उमेरले पनि सपोर्ट नगर्ने आदि तर्क थियो उनको । यी मध्ये एउटा तर्क सही हो भन्ने कुरामा म पनि सहमत थिएँ । त्यो थियो, ‘हिड्न नसक्ने ।’
मैले ‘शे फोक्सुन्डो’ जाने टिमका साथीहरुलाई आफ्नो अनुभव सुनाएँ – ‘शिवपुरी पिक’ पुगेर फर्किदा दुई दिन थला परेको । ‘शिवपुरी पिक’ जम्मा २८ किमीजति हो । १८ किलोमिटर पुग्न र १० किलोमिटर फर्किन । यति हिड्दा त थला परेँ भने ‘शे फोक्सुन्डो’ले केसम्म गर्ला भन्ने लाग्यो ।
‘मैले पनि नजाने भनेको त हो, तर पेशल दाइ मान्नु भएन ।’ मेरो कुरा झर्न नपाउँदै श्रीमतीजीले प्रश्न गरिन् ‘श्रीमती म कि पेशल दाइ ?’ म नाजवाफ बनेँ ।
अघिल्लो महिना म हुम्लाको हिल्सासम्म पुगेको थिएँ । हुम्ला जत्तिको बिकट त नेपालमा अर्को हिमाली जिल्ला छैन होला । तर हुम्ला जाँदा समेत श्रीमतीजी नकारात्मक थिइनन् ।
‘शे फोक्सुन्डो’ हिड्ने अघिल्लो दिन देखि उनी बोल्नै छोडिन् । मन भारी त मेरो पनि भकै थियो । तर भारी मन बिसाइहाल्ने ठाउँ थिएन ।
२०८२ असोज २५ गते काठमाडौंबाट फस्ट फ्लाईटमा सुर्खेत जाने टिकट भएकाले विहानै उठेर तयार भएँ । पछिल्लो बर्ष ८–१० पटक काठमाडौं वाहिर जाँदा प्रायः विहानै घर छोडियो । उनी कहिल्यै विदा गर्न उठ्दिनथिईन् । तर यस पटक उनी विहानै उठेर सक्रिय हुन थालिन् । म तयार हुँन्जेल अर्को कोठामा बसेर कुरिन् । हिड्ने बेला भएपछि मेरो निधारलाई केन्द्र बनाएर राता अक्षता टाँसिदिईन्, केही नबोलि तर गहभरी आँशु पारेर ।
श्रीमतीजीको विदाई देखेर मैले हाम्रा कान्छा हजुरबालाई संझेँ । हजुरआमाले नजानु भनेर ब्याग खोस्दा–खोस्दै हिडेका हजुरबा (मात्रिका गुरागाई) सवार जहाज दुर्घटनामा परेर ज्यानै गुमेको थियो । जे–जे संझिएपनि अन्तिम समयमा म भ्रमण रद्ध गर्न सक्ने अवस्थामा थिईंन ।
डोल्पा सदरमुकाम दुनै पुग्नु केही किलोमिटर अगाडि अर्थात सुलिगाड पुग्दासम्म मैले मनोबल तयार गर्ने कोशिस गर्दै थिएँ । जम्मा ३०–३० अर्थात जान–आउन ६० किलोमिटरको दुरी हिड्ने ट्रेकिङमा खासै सकस हुन्न होला भन्ने निश्कर्षमा म बिस्तारै पुग्न थालेको थिएँ । विभिन्न अनुभवीले हालेका भिडियोका सकारात्मक पक्षले म आस्वस्थ हुँदै गएको थिएँ । ओख्लिमा टाउको राखेपछि संभावित चोटका कारण आत्तिनुको अर्थ हुन्न भन्ने कुरा बुझ्दै गएँको थिएँ । तर, श्रीमतीजीले के बुझेर यस्तो विदाई गरिन् भन्ने चाहिँ बुझ्न सकेको थिईंनँ ।
ट्रेकिङ सुरु हुने डोल्पा सुलिगाडको भिम पुल तरेको मात्रै के थिएँ, सिन्धुलीबाट काका (ससुरा बुवा)को फोन आयो । उहाँले ‘शे फोक्सुन्डो’ ट्रेकको बारेमा गरेका अध्ययन र समाचार सुनाउनु भयो । हावाले ढुंगा झार्ने हुनाले जोगिएर हिड्नु पर्छ देखि त्यहाँको बस्तु स्थिती सुनाएर फोन लाग्ने ठाउँबाट सम्पर्क हुँदै गरोस् भन्ने अपेक्षा पनि गर्नु भयो । मैले ट्रेकिङ जाने भनेर श्रीमतीजी वाहेक परिवारमा कसैलाई सुनाको थिएन । ससुराबुवाको फोन आएपछि उनैले खासखास ठाउँमा भनिसकिछन् भनेर बुझ्न मलाई गाह्राे परेन ।
डोल्पाको दुनैसम्म जे जसरी पुगेपनि ‘शे फोक्सुन्डो’ यात्रा सुलिगाडबाट सुरु हुन्छ । हामी सुलिगाड पुग्दा दिउसोको दुई बजिसकेको थियो । त्यहाँबाट ११ किलोमिटर परको छेप्का पोष्ट पुगेर बास बस्ने कुरा पेशल दाइले सुनाउनु भयो । सोही अनुसार हामी स्फुर्तिकासाथ बाटो लाग्यौं । ८ जनाको हाम्रो टिममा दुईजना वाहेक सबै पत्रकार थियौं ।
पेशल दाइ, सुबर्ण चालिसे, अशोक घिमिरे, सन्ध्या अधिकारी (जेन्जी नानी) को हिडाई रहर लाग्दो थियो भने स्थानीय चर्चित पत्रकार हेमन्त केसी रकेट झैं थिए । ज्योति अधिकारी (अर्की जेन्जी) र रत्न श्रेष्ठको हिडाई परिपक्व थियो । उनीहरुको परिपक्वताले मलाई गाइडको काम गरेको थियो ।
साँझको साढे ८ बजे छेप्का पुगियो । किलोमिटर धेर नभएपनि हिमाली गोरेटो छिचोल्न समय लाग्दो रहेछ । त्यहाँको बास स्मरणिय भयो । एकजना उत्तरार्धमा जीवन गुजारिरहेकी शेर्पीनी आमाले पुग्ने वित्तिकै कचौरामा तोरीको तेल दिनुभयो, दुखेको खुट्टामा मालिस गर्न । कसम, त्यसवेला ती आमाको अनुहारमा आफ्नै आमाको प्रतिबिम्ब झल्कियो । बलिरहेको हिमाली चुलोको वरिपरी बसेर हामीले खुट्टामा तेल दल्दैगर्दा हेमन्तजीले खिल्ली मिश्रित मुस्कान फ्याँके । ‘यत्ति हिड्दा यिनीहरुको यो ताल छ, कसरी फोक्सुन्डो पुगेर फर्केलान् ?’ सायद हेमन्त जी यही सोच्दैथे । उनले चिल्लो कचौरामा औंला चोबेनन् ।
कुरामा कुरा चल्दा जव हामी ‘शे फोक्सुन्डो’ भन्थ्यौं, हेमन्तजी प्रतिबाद गर्थे । शे फोक्सुन्डो होइन, ‘फोक्सुन्डो’ मात्रै हो । उनको स्पष्ट कुरा थियो, – ‘तालको नाम ‘फोक्सुन्डो’ हो । मान्छेले नबुझेर ‘शे’ जोड्छन् ।’ उनी यस्तो प्रतिवाद गर्छन् भनेर उनको छेउमा पुगेर मैले धेरै पटक ‘शे फोक्सुन्डो’ भनेको थिएँ । उनी ‘शे फोक्सुन्डो होइन, फोक्सुन्डो मात्रै हो’ भनिहाल्थे । तालको नाम फोक्सुन्डो’ हो भन्नेमा विवाद होइन । ‘शे फोक्सुन्डो’ गाउँपालिका भित्र पर्ने भएकाले यस ट्रेकिङको नाम ‘शे फोक्सुन्डो’ भन्दा पनि गल्ती हुँदैन भन्ने कुरा चाहिँ हेमन्तजीले ढिलै भएपनि स्वीकारे ।
दोस्रो दिनको यात्रा विहान पौने ५ वाट सुरु भयो । ‘ट्रेकिङ’को सामान्य नियम हो, दैनिक ६–७ घण्टा हिड्ने । अनि आराम गर्ने । रमाइलो गर्ने । तर हाम्रो ‘ट्रेकिङ’ चैं ‘हाइकिङ’ पाराको थियो । मानौं यात्रा त्यही दिन सकिदैछ ।
दोस्रो दिन कतै बास नबसी ‘फेक्सुन्डो’ पुग्ने कार्यक्रम तय भयो । साँझ साढे ५ बजे हामी पुग्यौं पनि । यो १२ घण्टाको हिडाई निकै नै कष्टकर थियो । त्यसरी म्याराथन मच्चाउँदा खाजा खाने ठाउँ साल्दाङ हुन सक्छ, ८ किमी टाढाको । ९ किमीमा रेची छ । त्यो पनि खाजाकोलागि उपयुक्त नै छ । ११ किमी टाढाको सुम्दुवा पोष्ट अझ उपयुक्त हुन सक्छ । जहाँ खाना–खाजा खाएपनि छेप्काजति महंगो अर्को कुनै ठाउँ छैन । त्यसो त रेचीमा अन्डाको पैसा तिर्दा अली छक्क परियो । १ सय ५० रुपैयाँ पर्ने रहेछ, एउटा अन्डाको ।

खच्चड आउँदा म झण्डै खसेँ । विहान्को साढे ५ बजे, जंगलको बाटो । अध्यारो हराइसकेको थिएन । एकातिर भित्ता, अर्कोतिर गहिरोमा भेरी नदी । खच्चड आउन थालेको परै थाहा भयो, उनीहरुको घाँटीमा झुन्ड्याएको घण्टी बज्नाले । मलाई थाहा थिएन, खच्चडको लस्कर आउँदा भित्तातिर उभिएर बाटो दिनु पर्छ भन्ने । अरुले के गरे कुन्नी, अध्यारोमा देखिनँ, म चाहिँँ साइट लागेँ । तर उल्टो परेछ । खच्चड छेउमा आउँदा उसले बोकेको बोराले ठेल्न खोजेपछि मेरो दाहिने खुट्टा नदीतिर धसारिन थालो । त्यहाँबाट खस्दा सिधै सानी भेरी नदीमा परिन्छ भन्ने पक्का थियो । त्यहीबेला खच्चड गोठालाहरु कुदेर आए । माथिबाट कराएको होइन भन्दै हप्काउन थाले । तर कसोकसो माटो धसारिन बन्द भयो । एउटा सानो विरुवाको टुप्पो पकडेर म वाटोमाथि उक्लिन सफल भएँ । खच्चड तल लागेपछि श्रीमतीले लगाइदिएको त्यही रातो टिका संझें । हिड्ने क्रममा ज्यान तलमाथि हुने घटना आउने वित्तिकै विदाइको त्यही रातोटिका संझिन्थेँ ।
दोस्रो दिन अर्को पनि प्रगति भयो, खच्चडको पहिलो ग्याङले छोडेर हिडेको केहीबेरमा नै घुँडा दुख्न थालो । त्यसपछि घुँडामा बेण्डेज बाँधेर हिड्न थालेँ । बाटोमा चार खुट्टाले टेकेर हिड्ने उकालो पनि आउँदो रहेछ । खुट्टा दुखाई बढ्न थालेको थियो ।
स्याउ खान एउटा घर अगाडि सबैजना उभिनु भएको रहेछ । त्यसैघरकी सेर्पीनीले हामीलाई हेर्दै आफ्नो लवजमा भनिन्, –‘किन आको होलानी दुख पाउन ?’ आएका खुट्टा घिसारेर कछुवा शैलीमा भएपनि पुगेँ, फोक्सुन्डो । दुईजना साथीले मलाई अघि लाएर हिड्नु भयो । जे होस् पुगियो ।
फोक्सुन्डो देखेपछि सबै कष्ट बिर्सेझैं भयो । प्रत्यक्ष रुपमा त्यस्तो सुन्दरता मैले पहिलो पटक देखेको थिएँ । यति सुन्दर ताल सायदै होला संसारमा जस्तो भान भयो । तालको वरिपरी घुम्दै भ्रमण दलका सबैले फोन र क्यामेराको मेमोरी पक्कै भरेको हुनुपर्छ । यसकुरामा रत्न दाइले सबैलाई उछिनेको हुनुपर्छ ।
८ जनाको हाम्रो टिममा आठै स्वभावका मित्रहरु थिए । पेशल दाइलाई जतिसक्दो छिटो पुगेर, छिटै फर्किने सोच थियो । खाना खाने ठाउँ, खाजा खाने ठाउँ कतैपनि समय धेरै लाग्ला भन्ने चिन्ता हुन्थ्यो, उहाँलाई । सुबर्णजीलाई फोटोमा रुची थियो । सलक्क परेका उनलाई क्यामेराले रामै्र साथ दिन्थ्यो पनि । अशोकजी बडो गाइप्राणी लाग्थे । उनी जे जस्ता सहज–असहज अवस्थामा पनि फिट भै हाल्थे । मानौं उनी कुनै ध्यानी–ज्ञानी युवा हुन् । साथी मध्ये रत्न दाइको विशेषता फरक थियो । अशोकजी कै जस्तो स्वभाव भएका उनी हिड्नेक्रममा भेटहुँदा किसमिस लिएर हाजिर हुन्थे । घरीघरी उनले दिने दुईटा किसमिस हामीलाई अमृत बराबर हुन्थो । किसमिसको खास महत्व त्यही बेला बुझियो ।
हाम्रो टिममा दुईजना जेन्जी थिए । ती मध्ये सन्ध्याको हिडाईले उनी जेन्जी हुन भनेर भन्नै पर्दैनथ्यो । रकेट झैं गति भएका हेमन्तजीलाई उनले टक्कर दिएकी थिईन् । ज्योति चाहिँ नामकी जेन्जी लाग्थिन् । उनको गति धिमे थियो । खरायो र कछुवाको कथाको मर्म सायद उनले मात्रै बुझेकी थिईन् । एउटा म थिएँ, जसलाई सायद मैले नै चिन्न बाँकी थियो । जीवन बाँच्ने नै सिद्धान्त नभएको मैले हिडाईको सिद्धान्त बनाउन सक्ने कुरै भएन ।
बेलुका सुत्न कोठामा पुगेपछि एक्कासी ज्वरो आउन थालो । ज्वरो पनि काम ज्वरो । बल्ल बल्ल औषधिले झारेँ, ज्वरो । तर, त्यो अनकन्टार बाटो कसरी फर्किने भन्नेतिर मैले पटक्कै संझिनँ । संझेको भए सायद सिटामोलले ज्वरो झार्ने थिएन ।
विहान चिया खानेवेलामा टोली नेता पेशल दाईले मलाई घोडामा फर्किने प्रस्ताव गर्नु भयो । पेशल दाइले अरु साथीहरुलाई पनि भनिसक्नु भएको रहेछ, मलाई घोडामा पठाउनु परो भनेर । मलाई अरु मित्रहरुले पनि त्यही सल्लाह दिए । तर, मैले कुनै हालतमा घोडामा नफर्किने सोच बनाएँ । घिस्रिएर भएपनि पुग्छु भन्ने दृढ संकल्प गरेंँ । ‘शे फोक्सुन्डो’ ट्रेकिङबाट घोडामा फर्केको भन्ने कथा लामो समयसम्म साथीभाइकाबीचमा मजाक बनेर चल्छ भन्ने कुराले पनि मलाई घोडामा फर्किने कुरामा सहमती जनाउन दिएन । खुम्च्याउँदा–छुँदा पनि दुख्ने घुँडा लिएर त्यो अनकन्टारबाट फर्किन पक्कै सजिलो थिएन ।
विहान फेरि गएर तालको दर्शन गरियो । त्यसले छिनछिनमा रंग फरेको देख्दा रोमांचित नहुने कुरै भएन । विहान नै दुई पटक पुगियो ताल । चिया खाएर र खाजा खाएर । सुनेको कुरो प्रत्यक्ष देख्दा ...यस्तो लागो, आस्तिकहरुले बयान गर्ने गरेको स्वर्ग पनि यस्तै सुन्दर हुँदो हो ।

फोक्सुन्डो तालमा हामीले एउटा कार्यक्रम गरिम् । कार्यक्रम थियो, पेशल दाइले ७७ जिल्ला डुलेर बनाएको कीर्तिमानमा । उहाँले डोल्पा डुलेपछि ७७ जिल्ला पुगेको दावी गर्नुभयो । हामी सबै उहाँको दावीमा सहमत भएपछि तालको डिलमा उभिएर उहाँको भाषण सुन्यौं । उहाँको सुरुदेखिको भाषण ज्योतिजीले खिच्नु भयो । हामीले पालैपालो शुभकामना दियौं ।
‘फोक्सुन्डो’ ताल नियालिसकेपछि मैले सोचेँ, रंग फेर्नेमा किन छेपाराको मात्र उदाहरण स्थापित भयो ? आखिर रंग त यस्ले पनि फेरिरहने रहेछ । यस्को जवाफ कुनै प्रकृति र समाजका विज्ञले दिए हुन्थ्यो जस्तो लाग्छ ।
१० घण्टा हिडेर छेप्का फर्किएपछि फेरि उही । घुँडा दुख्नेदेखि काम ज्वरोले पनि छोडेन । दुखाई बढिराथ्यो । यस्तो पनि लागो, जीवनमा म उपरान्त हाँस्दिन होला । खाली, दुख बिर्साउने एउटै दृश्य थियो, नीलो ‘फोक्सुन्डो’ ताल । त्यस्को सुन्दरताको दर्शन । तालको दर्शनले दुखाई र ज्वरो एकैपटक बिर्साउँथ्यो । ज्वरो तेस्रो दिन आएन ।
काठमाडौंबाट सुरु भएको हाम्रो भ्रमण जम्मा सात दिनमा सकियो । त्यसमा ट्रेकिङ चैं मात्रै तीन दिनको थियो । कम्तिमा चार दिनको ट्रेकिङलाई तीनदिनमा प्याक गर्नुमा पेशल दाईकै देन थियो ।
यस ट्रेकिङ वारे मेरो अन्तिम निष्कर्ष हो, ‘फोक्सुन्डो बराबरको सुन्दर अर्को ताल मैले दर्शन गर्न पाएको छैन । यो भन्दा करोडौं गुणा राम्रो निश्कर्ष ज्योतिजीले निकाल्नु भयो । भन्नुभयो, ‘नमरी पुगेको, स्वर्ग त होलानी !’
ट्रेकिक सकेर मुल घर इटहरी गईयो । फोक्सुन्डो जस्तै सुन्दर ममी (आमा)को दर्शन गरियो । काठमाडौं फर्किदा सिन्धुली पसियो, ‘तिहारको ज्वाईं उल्लु’ बनेर । ससुराली आएपछि मात्र थाहा भयो, श्रीमतीजीले टिकालगाएर ‘अन्तिम विदाइ’ पो गरेकी रहिछन् । उनको आँशु त्यसै छल्किएको होइन रछ । फर्केर आउने संभावनामा नै उनको आशंका रहेछ ।
हामी भविष्यमा फेरि फेरि नि भेटिरहनुपर्छ फोक्सुन्डो
२०८३ असोज २५ (प्रथम स्मृति)
गठ्ठाघर


दिवस गुरागाईं

