हुम्ला । कोरोना सङ्क्रमण जोखिमकै बीच कर्णाली कोरिडोरको सिमकोट सलिसल्ला खण्डमा पर्ने बोक्चेगौडा भीर छिचोलिएको छ । निकै असजिलो खण्ड रहेको उक्त भीरमा निर्माण कार्य सुरु भएको १६ महिनापछि विस्फोटक पदार्थ र मेसिनको प्रयोग गरेर छिचोलिएको हो ।
गत वर्षको बन्दाबन्दीमा पनि केही समय रोकिएर निरन्तर काम भएकै कारण कोरोनाको दोस्रो लहरको कठिन समयमा पनि चट्टानी भागमा सफलता पाइएको छ । निर्माण कम्पनी पीएस क्याराभ्यान कङ्ग्री जेभीका प्रतिनिधि मङ्गल लामाले खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडाभीरको चट्टान फुटाउने र जमिनको भाग सम्याउने काम पूरा भएको जानकारी दिए ।
उनका अनुसार यहाँबाट निर्माण उपकरण ल्याउने–लाने काम हुन थालेको छ । खार्पुनाथ गाउँपालिका–१ का बासिन्दा टक्कबहादुर शाहीले असजिलो भागमा पनि सडक निर्माण भएपछि कर्णाली कोरिडोर चाँडै जोडिने विश्वास व्यक्त गरे ।
हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख विसुनदास लामाले ३७५ मिटर लम्बाइ रहेको सो भीरलाई फुटाउन नेपाली सेनाको रोहबरमा निर्माण कम्पनीले १९ पटक विस्फोट गराएको बताए । निर्माण कार्य भइरहेका बेला विस्फोटक पदार्थ सकिएका कारण भीर छिचोल्न केही समय बढी लागेको थियो ।


