स्थानीय तहका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल अन्तिम चरणमा पुगेको छ । जेठ ५ गते कार्यकाल सकिनु अगाडि जनप्रतिनिधिहरु आफ्नो ५ वर्षे कार्यकालको बिट मार्ने तयारीमा छन् । उता निर्वाचन स्थानीय तहको निर्वाचन घोषणा भएपछि नयाँ नेतृत्वका लागि राजनीतिक चहलपहल समेत सुरु भएको छ ।
पछिल्लो ५ वर्ष सूर्यविनायक नगरपालिका विवादरहित ढंगले कार्यसिम्पादन गर्ने अग्रणी नगरपालिका बन्न सफल भयो । १० वटा नगरसभा र ११८ कार्यपालिका बैठकले गरेका सबै निर्णय सर्वसम्मत रुपमा सम्पन्न गरेर नगरपालिकाले एउटा उदाहरण प्रस्तुत गर्यो । जसको नेतृत्व नगर प्रमुख वासुदेव थापाले गरे ।
उनै थापासँग पहिलो कार्यकालको अनुभव, समग्र प्रगति र आगामी योजनाको सम्बन्धमा केन्द्रित रही नेपालअर्थले संवाद गरेको छ ।
स्थानीय तहको निर्वाचन पनि घोषणा भइसकेको छ, निर्वाचनका लागि तपाइँको तयारी के हो ?
म पार्टीको एउटा सिपाही हुँ । एउटा सिपाहीले आफ्नो कमाण्डरले जहाँ गएर जिम्मेवारी निर्वाह गर्न भन्छ, त्यहीँ जाने हो । मलाई अहिलेसम्म पार्टीले यही जिम्मेवारीलाई दोहोर्याउने कि अन्यत्र पठाउने भन्नेबारे केही निर्णय गरेको अवस्था छैन । त्यसैले मैले यसबारे केही बोल्न मिल्दैन ।
मैले आफ्नो कुरा पार्टीमा राखिसकेको छु । मैले मेयरको रुपमा अहिलेसम्म गरेका कामबारे पार्टीले मूल्यांकन गरिरहेको छ । अब पार्टीले उपयुक्त ठानेर जे निर्णय गर्छ, त्यही अनुसार अघि बढ्छु ।
तपाइँको व्यक्तिगत इच्छा चाहिँ फेरि मेयर नै बन्ने हो कि अर्कै जिम्मेवारीमा जाने हो ?
मैले यसबारे अहिले बोल्दा यसले पार्टीको निर्णयमा असर पर्छ । त्यसैले म अहिले यसबारे केही भन्दिँन । पार्टीले पनि अहिले सार्वजनिक रुपमा केही नबोल्नु भनेको छ । पार्टीले उचित जिम्मेवारी दिनेछ भन्ने विश्वास छ ।
पार्टीले कसैको कार्यकाल पनि नदोहोर्याउने र फरक फरक जिम्मेवारीमा पठाउने नीति लियो भने त्यसलाई मानेर जान्छु । तर, आवश्यकताको आधारमा मलाई दोहोर्याउने निर्णय गर्यो भने त्यही अनुसार जान पनि सकिन्छ ।
पार्टीले उपयुक्त ठानेर फेरि मेयरको टिकट दियो भने अर्को कार्यकालको आफ्नो क्षमताले भ्याएसम्म इमान्दारितापुर्वक जिम्मेवारी निर्वाह गर्न पनि तयार छु ।
यो कार्यकाललाई कति उपलब्धिमूलक मान्नुभएको छ ?
अहिले म ५ वर्षे कार्यकालको अन्तिम चरणमा छु । यो अवधिलाई मैले सोचेको भन्दा पनि उपलब्धिमूलक मानेको छु । त्यसैले आफ्नो कार्यकालप्रति म पूर्ण रुपमा सन्तुष्ट छु । मैल यो कार्यकालमा घोषणापत्रमा लेखेको भन्दा पनि धेरै काम गर्न सफल भएको छु भन्ने लागेको छ ।
हामीले संघ र प्रदेशबाट पनि अन्य नगरपालिकाको तुलनामा धेरै बजेट ल्याए काम गर्न सक्यौं । त्यही कारण यो अवधिमा विकास निर्माणको काममा राम्रो सफलता हासिल गर्न सकियो । सडक, खानेपानी, विद्यालय, नगरपालिका र वडाको कार्यालय संरचना निर्माण, नगरपालिकाको कानून निर्माण लगायत काममा राम्रो सफलता हासिल गर्न सकियो ।
४ वर्षमा मात्रै हामीले ७१ किलोमिटर सडक बनायौं । कार्यकालको अन्त्यसम्म २९ किलोमिटर थपेर १०० किलोमिटर पुर्याउनेगरी अघि बढेका छौं । २० किलोमिटर सडक ढलान भएको छ । खानेपानी ट्यांकीहरु बनेका छन् । खेल मैदानहरु बनेका छन् । विद्यालयका ३७ वटा पक्की भवन बनेका छन् ।
अहिलेसम्म नगरपालिकाको १ सय १८ वटा बैठक बस्यो । १० वटा नगरसभा बैठक भयो । थोरबहुत विवादका बाबजदुत सबै निर्णय सर्वसम्मत रुपमै भएका छन् । हामीले यो अवधिमा ६३ वटा कानून सर्वसम्मत रुपमै पारित गर्यौं ।
यो सफलताको पछाडी मेरो मात्रै हात छैन, सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार र सबै नगरवासीको सहयोग उत्तिकै महत्वपूर्ण छ । उहाँहरुलाई म धन्यवाद दिन चाहन्छु । मेरो कार्यकालमा भएका कामको विस्तृत विवरणको बारेमा मैले पुस्तकमार्फत् सार्वजनिक गर्ने योजना बनाएको छु । त्यसमा तपाइँले सबै कुरा पाउनु हुनेछ ।
नगरपालिका तथा वडाबाट हुने सेवा प्रवाहमा सुधार ल्याउन के के काम गर्नुभयो ?
यसका लागि हामीले मोबाइल एपबाटै सबै सेवाको बारेमा जानकारी गर्ने व्यवस्था गर्यौं । कानून निर्माण समयमै गर्न सक्दा यसको कार्यान्वयन पनि राम्रोसँग हुन सक्यो । यसका कर्मचारी साथीहरुबाट पनि राम्रो सहयोग पाएका छौं ।
घरको नक्सापास र निर्माण सम्पन्नको प्रमाणपत्र दिने कुरामा नगरपालिका अरु स्थानीय तहभन्दा छिटो छ । नगरपालिकाको प्रमुख आयास्रोत भनेकै घरजग्गा कारोबार भएकोले हामीले यसमाध्यान दिएका छौं । वडा तहबाट हुने सेवालाई पनि हामीले जनतामैत्री बनाउने प्रयास गरेका छौं ।
यो अवधिमा तपाइँले गर्न चाहेर पनि नसकेको काम केही छ ?
मैले यही कार्यकालभित्र नगरपालिककाको भवन निर्माण सम्पन्न गर्न चाहेको थिएँ । त्यो सम्भव भएन । यो सम्पन्न नहुनुमा कोरोना महामारी र ठेकेदारको लापरबाही प्रमुख कारणको रुपमा रह्यो । भवन निर्माण गर्न स्वीकृत दिँदानदिँदै कोरोना महामारी सुरु भयो । नेपाल सरकारको निर्णय अनुसार सबै ठेकेदारले काम सक्नुपर्ने अवधि पर सर्यो ।
तर, ठेकेदारले समयमा काम गरेन । काम नगर्ने ठेकेदारलाई हटाउन पनि प्रक्रिया पूरा गरेरै जानुपर्ने भएकोले त्यसमा काम हुन सकेन । अहिले चाहिँ यो द्रुत गतिमा निर्माण सुरु भएको छ । ५ तल्ला, १ हजार क्षमताको सभाहल, ३०० वटासम्म गाडी पार्किङ सहितको सुविधासम्पन्न भवन बन्दैछ । यो सम्पन्न भएपछि नगरपालिकाको सेवा प्रवाह पनि चुस्त र दुरुस्त हुन्छ ।
अर्को हनुमन्ते कडिडोरको काम पनि अधुरो रह्यो । हुन त यो काम नै २०/२५ वर्ष लाग्ने खालको हो । सुरुमा हामीले यसलाई अघि बढाउन ३ वटा क्लस्टरमा उपभोक्ता समिति बनायौं । कोरोना सुरु भएपछि त्यो अघि बढ्न सकेन । अब अर्को चुनाव सुरु भएको र जनताको जग्गा फिर्तादिने ग्यारेन्टी नभइकन काम अघि नबढाउने सहमति भएकोले यो यतिकै रोकिएको छ । अरु कामहरु चाहिँ भएकै छ जस्तो लाग्छ ।
साना आयोजना सन्तोषजनक रुपमा अघि बढ्दै गर्दा ठूला आयोजना चाहिँ अघि बढ्न सकेन भनिन्छ नि ?
ठूला योजना पनि नबनेको होइन । गोदावरी खोलादेखि घ्याम्पेडाँडासम्मको बाटोको लागि ४० करोडको एउटै योजना बनाएका छौं । प्रत्येक वडालाई कम्तीमा १ करोडको ठूलो योजना बनाउनुपर्छ भन्ने व्यवस्था गर्ने पहिलो नगरपालिका नै सूर्यविनायक हो ।
खानेपानी ढल लगायत आयोजना पनि २०÷२५ करोडका छन् । हनुमन्ते करिडोर २ अर्बको हो । यसमा १ अर्ब रुपैयाँको काम भएको छ ।
उपत्यकाको उदीयमान बस्तीको रुपमा विकास हुँदै गरेको सूर्यविनायकमा व्यवस्थित शहरीकरणको योजना जसरी अघि बढ्नुपथ्र्यो, ती त अघि बढेनन् नि ?
हामी यो कार्यकालमा ऐन कानून र प्रशासनिक कार्य गर्ने संरचना र कर्मचारी व्यवस्थापनमै बढी केन्द्रित भयौं । कोरोना महामारी नियन्त्रणमा पनि धेरै काम गर्नुपर्ने भयो । त्यसका बाबजुद हामीले केही योजना अघि बढायौं ।
अहिले प्रशासनिक, कानूनी र योजनागत रुपमा सबै पूर्वाधारहरु तयार छ । कानून बनेका छन् । कर्मचारी संरचना र कार्यालय निर्माण भएका छन् । हामीले २० वर्षे आवधिक योजना पारित पनि गरिसकेका छौं । यी कार्यमा अब अर्को नेतृत्वले ठूला परियोजनामा अघि बढ्ने बाटो खुला भएको छ ।
प्रदेश र संघसँग सूर्यविनायक नगपालिकाको सम्बन्ध चाहिँ कस्तो रह्यो ?
माथिल्ला तहहरुबाट पनि हामीलाई सहयोग पाएकै अनुभुति भएको छ । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने स्थानीय सरकारले नै हो । माथिल्लो तहको सरकारले निर्णय मात्रै गर्ने हो । हामीले माथिल्लो तहमा भएका निर्णयलाई कार्यान्वयन गर्न प्रक्रिया पूरा गरेर निवेदन पेश गर्दा माथिल्लो तहले रोकेको छैन । सहयोग नै गरेको छ ।
प्रदेश र स्थानीय तहको विषयमा चाहिँ केही केही समस्या देखिएको छ । स्थानीय तहले पाएको अधिकार केही कटौती गर्ने प्रयास भइरहेको छ भन्ने सुनिएको छ । यसबारे नगरपालिका संघले हेरिरहेको छ । हामीले संघलाई सघाइरहेका छौं ।
आयोजनाको ओभरल्यापको समस्या चाहिँ कति छ ?
त्यस्तो छैन । हामी हाम्रै विधि र प्रक्रियाले अघि बढेका छौं । बरु माथिल्ला सरकारले समयमा बजेट नपठाइदिँदा हामीले गाली खानु परेको अवस्था चाहिँ देखियो । जेठको अन्तिममा मात्रै योजना स्वीकृत गर्ने र बजेट पठाउने गर्दा जनताले खर्च सक्न असारे विकास गरेको भनेर आलोचना गर्ने अवस्था बन्यो ।
माथिल्लो तहबाट आएको अपर्झट बजेट खर्च गर्दा त्यस्तो कामको गुणस्तर कायम गर्न पनि गाह्रो हुँदो रहेछ । यस्तो हुँदा कमिसन खायो भनेर आरोप लगाउनेहरु पनि देखिए । मैले अहिलेसम्म नगरपालिकाबाट लिएको तलब व्यक्तिगत रुपमा खर्च गरेको छैनज, कतै न कतै सार्वजनिक काममै लगाएको छु । कहाँ खर्च गरेँ भन्ने विवरण सार्वजनिक गर्छु ।
तर, मलाई नै कमिसन खान यस्तो गर्यो भन्ने हल्ला चलाउँदा दुःख लाग्छ । यो वर्ष त जेठको ५ गते हामी बिदा हुन्छौं । त्यसैले असारे विकासको आलोचना खेप्न समेत नपर्ने भयो ।
सूर्यविनायक नगरपालिकाको यो वर्षको पुँजीगत खर्चको अवस्था कस्तो छ ?
हामीले बजेटमा व्यवस्था भए अनुसार सबै योजनाको ठेक्का लगाएर काम सुरु गरिसकेका छौं । केही काम सकिएका पनि छन् । केही अगाडि बढ्र्दैछन् । यसको विस्तृत विवरण म केही दिनमा सार्वजनिक गर्छु ।
यहाँको काम गर्ने गति सोचेभन्दा पनि छिटो छ । यहाँ नगरसभा भइसकेपछि साउनमा टेन्डर हुन्छ । असोजमा टेन्डर प्रक्रिया सकिएर काम सुरु हुन्छ । अहिले ९० प्रतिशत काम प्रक्रियामा गइसकेको छ । खर्च पनि धेरै भइसकेको छ । नयाँ योजनाका लागि बजेट पनि अब लगभग सकिएको छ ।
तपाइँको नगरपालिकामा जनप्रतिनिधिबीच अद्भुत एकता देखियो । यसमा तपाइँको व्यक्तिगत खुबी चाहिँ के छ जस्तो लाग्छ ?
यो कुनै छुट्टै शक्ति होइन । ऐन कानूनलाई टेकेर काम गर्ने र कुनै आफ्नो जातजाति वा आफ्नो पार्टी नभनेर सम्पूर्ण नगरपालिकाको मेयरको रुपमा काम गर्ने हो भने यस्ता समस्या नै आउँदैन ।
मूलत नेतृत्व अनुशासित बन्नुपर्छ । यो अवधिमा मैले मेयर हुँ भनेर कुनै पनि विचारलाई लाद्ने प्रयास गरिँन । सहमतिबाटै अघि बढ्दा यो सम्भव भयो ।
नयाँ नेतृत्वले गर्नुपर्ने अबका कामहरु के के हुन् ?
नयाँ नेतृत्वलाई मेरो सुझाव के हो भने ऐन, कानून र नीतिहरुलाई टेकेर काम गर्ने । जानतजाती र भेषभुषा हेरेर काम नगर्ने । यो पार्टी उ पार्टी नभन्ने गर्नुपर्छ । राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणमा ऐक्यवद्धता भन्ने नारा हामीले लिएका थियौं । त्यही अनुसार हामीले आफ्नो कार्यकाल सार्थक बनायौं । यही भावनाका साथ अब जो आए पनि सूर्यविनायक नगरपालिकामा राम्रै काम हुन्छ ।


