जुना बस्नेत सूर्यविनायक नगरपालिकाकी उपमेयर हुन् । आफ्नो ५ वर्षे कार्यकालको अन्तिम समयमा आइपुग्दा नगरपालिकाले विकास निर्माण र सेवा व्रवाहमा निकै ठूलो फड्को मारेको उनको भनाइ छ । न्यायिक समितिको संयोजकको हैसियतमा न्यायसम्पादनको काममा समेत राम्रो सफलता हासिल गरेको उनको बनाइ छ ।
उपमेयर बस्नेतसँग नगरपालिकाको समग्र कामकारबाही र उनको आगामी गन्तव्यबारे केन्द्रित भइ संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ ।
५ वर्षे कार्यकाल तपाइँको नगरपालिकाले गरेका महत्वपूर्ण कामहरु के के हुन् ?
सूर्यविनायक नगरपालिकामा वैशाख ३१ गते चुनाव भएर जब हामी आयौँ, त्यतिबेला नगरपालिका सानो ३ कोठे भवन र ५ जना कर्मचारीको आधारमा चलिरहेको थियो । नगरपालिकामा हामी निर्वाचित भएर आउँदा प्रमुख प्रशासकीय अधिकृत, प्रशासन प्रमुख, योजना अधिकृत, नक्सा इन्जिनियर र कार्यालय सहयोगी मात्रै थिए ।
त्यो अवस्थाबाट आज यो ठाउँसम्म आउनको लागि सूर्यविनायक नगरपालिका सबै जनप्रतिनिधि एक भएर अघि बढेका छौं । अहिलेसम्म १ सय १९ वटा कार्यपालिकाको बैठक भयो । हामीले सबै बैठक एकदम सहमतिका साथ सम्पन्न गरेका छौँ ।
मलाई जहाँसम्म लाग्छ, सूर्यविनायक नगरपालिकाले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा अहिलेसम्म नगर क्षेत्रभित्र १८ वटा पुल निर्माण गरिसकेको छ । ३४ वटा सामुदायिक विद्यालयहरु छन् ।
तर हिजो भुकम्पले भत्किएका सामुदायिक विद्यालयमध्ये ३७ वटाको पुनर्निर्माण गर्न सफल भएका छौँ । हामी ८ मिटर देखि १४ मिटरसम्मको फराकिला सडक बनाउन सफल भएका छौँ । हामीले झन्डै ७२ किलोमिटर सडक कालोपत्र गर्न सफल भएका छौँ । साथै सडकको दायाँ बायाँ वाल ब्लक बिच्छ्याउने जस्ता धेरै काम हामीले गरिसकेका छौँ ।
हामीले प्रत्येक वडा हुनेगरी १९ वटा सामुदायिक भवन निर्माण गर्यौं । सूर्यविनायक नगरपालिकामा हामी जनप्रतिनिधि भएर आइसकेपछि केही न केही फरक कामहरु गर्नुपर्छ भन्ने हिसाबमा शिक्षा, स्वास्थ्य रोजगार तथा आम महिला दिदीबहिनीलाई कसरी अग्रसर बनाउने भन्ने सोचाइका साथ प्रत्येक वडामा महिला लक्षित कार्यक्रम पठायौं।
मलाइ लाग्छ सुर्यविनायक नगरपालिकामा आन्तरिक आम्दानीको स्रोत घरजग्गा भएको छ । तर भोली घरजग्गाको काम जब सकिन्छ त्यतीबेला चैँ नगरपालिकाको के हुन्छ आन्तरिक आम्दानीको स्रोत भन्दा हामीले हाम्रो नगरपालिकालाई धार्मीक पर्यटकको गन्तव्य बनाउँन खोजीराखेका छौँ ।
हामीले २५ वटा मठ मन्दिरहरु जुन हिजो भुकम्प गएका बेला जिर्ण भएको थियो जुन भत्किनी अवस्थामा भएको थियो ती सबै मन्दिर बनाउनी काम हामीले गरेका छौँ । र सुर्यविनायक नगरपालिकालाई एउटा पदमार्ग शिब सर्किटको रुपमा हामीले एउटा डीपीआर पनि गरिराखेका छौँ । हामीले त्यो अनुसार ५ वटा पदमार्ग पनि निमार्ण गरिसकेका छौँ ।
सूर्यविनायक नगरपालिकामा राष्ट्रिय रुपमै महत्वपूर्ण मानिने ३ वटा आयोजना छन् । पहिलो राष्ट्रिय प्राणी उद्यान, शिव सर्किट अन्तर्गत उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल र हनुमन्ते करिडोर यस अन्तर्गत पर्छन् । यी सबै काम संघ, प्रदेश र स्थानीय तहको समन्वयमा अगाडि बढाइरहेका छौं ।
अहिले हामीसँग झन्डै १५ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । हामीले ८ वटा गाविसलाई १० वडा बनाउँदाखेरि यो क्षेत्रमा ८ वटा स्वास्थ्य चौकीहरु थिए । अहिले यसलाई बढाएर नगर स्वास्थ्य केन्द्र बनाएका छौं ।
त्यस्तै घ्याम्पे डाँडा र काँक्राबारीमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिराखेका छौँ । सबै स्वास्थ्य केन्द्रमा ल्याब र कर्मचारी व्यवस्था सहितको व्यवस्थापन गरेका छौँ । त्यहाँ जो उपचार गर्न जानुहुन्छ, जो औषधी लिन जानुहुन्छ, उहाँहरुलाई ३५ प्रकारको औषधि निःशुल्क वितरण हामीले गरिरहेका छौं।
यो हुँदाहुँदै जब कोरोना संक्रमण आयो, हामीले पीसीआरका लागि घुम्ती सेवा नै सुरु गयौँ । हामीले झन्डै १६ हजार ७ सय ९४ जनालाई घुम्ती सेवा मार्फत् पीसीआर गयौँ । हामीले पहिलो र दोस्रो कोरोनाविरुद्धको खोप चाहिँ ५७ हजार १ सय ४५ जनालाई दिइसकेका छौँ । अहिले १८ देखि १२ वर्षसम्मको र बुस्टर डोज दिने कार्य अहिले भइरहेको छ । हामीले नचाहँदा नचाहँदै ६७ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
उहाँहरुले औषधि उपचार पाउन नसकेको महशुस गर्दै हामीले नेपाल सरकार, माननीय सांसदज्यू र नगरपालिकाको समन्वयमा झन्डै ८ करोड लगानीमा सुविधासम्पन्न नगर अस्पताल बनाएका छौँ । यसलाई काठमाडौंका ठूलाठूला अस्पतालसँग दाज्न मिल्ने अस्पताल बनाउँदै छौँ ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई अझै जनतासँग जोड्नका लागि नगरपालिकाले १ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । त्यसले गर्दा पनि यो स्वास्थ्य बीमा कार्यक्रम अति विपन्न वर्गका जनताहरुको लागि एकदमै फलदायी भएको छ।
सूर्यविनायक नगरपालिकालाई हेर्न लायक, देख्न लायक बनाउन हामी समग्र जनप्रतिनिधिहरु एकढिक्का भएर लागिरहेका छौँ । हामी सबैको समन्वयमा समृद्ध नगरपालिका र सुखी नगरवासी बनाउन एक ढिक्का भएर अगाडि बढेका छौँ ।
तपाइँ त न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । यो अवधिमा तपाइँले गरेका न्यायसम्पादनसम्बन्धी कामहरु चाहिँ के के हुन् ?
जनताको घरघरमा न्यायको अनुभूति होस् भन्नको लागि हामीले प्रत्यक वडामा मेलमिलाप केन्द्र गठन गरेका छौं । यसका लागि हामीले ७४ जनालाई मेलमिलापकर्ताको रुपमा तयार गरेका छौँ । १८ जनालाई उच्च तहको तालिम पनि दिएका छौँ । उहाँहरुले वडामा आएका मुद्दाहरुलाई वडामार्फत् मेलमिलाप केन्द्रमा छलफल गराउनुहुन्छ । मिल्न सकेका विवादलाई मिलाउनुहुन्छ । मिल्न नसकेको अवस्थामा न्यायिक समितिमा आउनुहुन्छ ।
केन्द्र र समितिमा समेत गरी अहिलेसम्म २ सय भन्दा बढी मुद्दा दर्ता भएका छन् । केही मुद्दाहरु वडाबाटै पनि समाधान हुने गरेका छन् । वडाको केन्द्रमा दर्ता भएका बाहेक १ सय ३३ वटा मुद्दा समितिमा आएका छन्।
यसमध्ये अधिकांश मुद्दा जमिनको साँधसीमाना सँग सम्बन्धित थिए । सम्बन्धबिच्छेद, अंशबण्डा लगायत केही घरायसी झगडाका मुद्दा पनि आएका थिए । हामीले मिलाउन सक्ने मुद्दालाई मिलाएर पठायौं । मिल्न नसकेका मुद्दालाई हामीले लिन मिल्ने किसिमको मुद्दा लियौं र न्याय सम्पादन गर्यौं । तर, लिन नमिल्ने मुद्दाहरुका हकमा जिल्ला अदालत वा सम्बन्धित अदालतमा जान सल्लाह दिने गरेका छौं ।
त्यो हिसाबमा हामीले न्यायिक पाटोलाई पनि पारदर्शी र द्विविधारहित ढंगले कसैको पक्षपोषण नगरी स्वतन्त्र रुपले सबैको मन बुझाएर उहाँहरुलाई पठाउने गरेका छौँ ।
५ वर्षे कार्यकालको अन्तिम समयमा हुनुहुन्छ । बाँकी अवधिमा के काम गर्छु भन्ने योजना छ ?
हिजो हामी त्यस्तो अवस्थाबाटआयौँ, हामीले नगरपालिकालाई समृद्ध बनाउनुपर्छ भन्ने हिसाबमा हामी विकास गदैछौँ । अहिलेसम्मको विकास भौतिक पुर्वाधारको क्षेत्रमा मात्रै केन्द्रित भए । तर, अब भौतिक पूर्वाधारसँगै मानवीय पूर्वाधारको विकास पनि गर्नुपर्छ ।
म त बालबालिकासँग गाँसिएको छु, जेष्ठ नागरिकसँग गाँसिएको छु,अपांगता भएका व्यक्तिसँग गाँसिएको छु ।आम दिदीबहिनीको मुद्दा मामिलामा कसरी अगाडि बढ्ने भनेर त्यससँग गाँसिएको छु । सूर्यविनायक नगरपालिका विशेषगरी एकल महिला संरक्षणको काममा एक कदम अगाडि बढेको छ ।
अहिले हामीले एकल महिलालाई सम्बन्ध विच्छेद भएका, श्रीमान बेपत्ता भएका, श्रीमानको मृत्यु भएका र विवाह नगरी बसेका ३५ वर्ष नाघेका गरी ४ किसिमले हेरेका छौं । उहाँहरुको रोजीरोटीका लागि हामी कसरी सहज गराउने भनेर हामी अगाडि बढेका छौँ । यो योजना सफल बनाउन कानुनहरु सबै बनाइसकेका छौँ । हाम्रो कार्यकाल रहुञ्जेल हामी काम गर्छौं । हामी दोहोरिएर आयौं भने हामीले नै काम गरौंला । नभए नयाँ आउने जनप्रतिनिधिले पनि हामीले कोरेको खाकालाई लिएर अगाडि बढ्नुहुन्छ भन्ने मलाई लागेको छ ।
अर्को कार्यकालको लागि तपाइँको चाहना के हो ? उपमेयरमै दोहोरिने, मेयर बन्ने कि अरु नै भूमिकामा रहने ?
पक्कै पनि उपमेयरको रुपमा काम गरेपछि मेयर बन्ने चाहना र दाबेदारी दुबै हुन्छ । अब मेयर साबले दोहोर्याउने चाहाना गर्नुभयो भने म उपमेयरमै दोहार्याउन तयार छु । उहाँले छाड्नुभयो भने मेयरमा मेरो स्वभाविक दाबेदारी रहन्छ । अहिलेसम्म उपमेयर भएर जति अनुभव सँगालियो, यसले मेयरको रुपमा पनि मैले राम्रो भूमिका निर्वाह गर्न सक्छु भन्ने प्रष्ट भएको छ ।
हामी भनेको नयाँ सस्थापक हौं । नयाँ नगरपालिका भएको नाताले यहाँ धेरै संरचनाहरु हामीले बनाएका छौँ । ती अधुरा अपुरा छन् । त्यो पुरा गर्नको लागि पनि हामी फेरि आउनुपर्छ भन्ने मलाई लाग्दछ ।


