काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारण लाइनको विद्युत उपयोग गर्न आग्रह गरेको छ ।
प्राधिकरणले उत्पादित विद्युत मुलुकभित्रै खपत बढाउने अभियान अन्तर्गत बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरूलाई १३२ केभी लाइनको विद्युत उपयोग गर्न आग्रह गरेको हो ।
त्यस क्षेत्रका उद्योगहरुले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महंगो पर्दैन ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ,वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।
प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोक भ्रमण गरी ४ सय र १ सय ३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ,विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आगामी दिनमा ठूलो आद्योगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए ।
‘त्यस क्षेत्रमा खुल्ले उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौं, तत्काल विद्युत माग गर्ने उद्योगहरुलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत आपूर्ति उपलब्ध गराउने छौं,’घिसिङले भन्नुभयो । ‘पर्साको पोखरियामा ४ सय केभी र बाराका प्रसौनीमा १ सय ३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौं ।’
हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४ सय केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई बिरगञ्ज हुँदै पोखरियामा पुर्याइने छ । बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले उल्लेख गरे ।
सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ ।
यसबाट प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत आपूर्ति दिन सकिने भएको छ । उद्योगहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको छ ।


