काठमाडौं । एनबी इन्भेष्टमेन्ट प्रा. लि. एनसीसी बैंकको मुख्य लगानीकर्ताको सूचीबाट बाहिरिने भएको छ । कम्पनीले एनसीसी बैंकमा आफ्नो स्वामित्वमा रहेको शेयर बेच्दै मुख्य लगानीकर्ताको सूचीबाट बाहिरिन लागेको छ ।
बैंकमा सो कम्पनीको ६ लाख ८९ हजार कित्ता शेयर छ । यो बैंकले जारी गरेको कुल शेयरको ०.६२ प्रतिशत हिस्सा हो । तर, सो कम्पनीले एकैपटक डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको छ । यो शेयर बिक्रीसँगै यस्तो हिस्सा घटेर ०.४८ प्रतिशतमा झर्छ । राष्ट्र बैंकको निर्देशन अनुसार ०.५० प्रतिशत भन्दा कम लगानीलाई मुख्य लगानीकर्ता मानिँदैन ।
त्यसो त सो कम्पनीले अघिल्लो वर्षदेखि नै एनसीसी बैंकमा रहेको आफ्नो शेयर स्वामित्वलाई कम गर्दै लगेको छ । अघिल्लो वर्ष सो इन्भेष्टमेन्ट कम्पनीको नाममा १३ लाख ६२ हजार कित्ता शेयर थियो । यो कुल जारी शेयरको १.४६ प्रतिशत हुन आउँथ्यो ।
अघिल्लो वर्ष मात्रै सो कम्पनीले एनसीसी बैंकको झन्डै साढे ८ लाख कित्ता शेयर बिक्री गरेको थियो । यही कारण शेयरहिस्सा घटेर ०.६२ प्रतिशतमा सीमित हुन पुगेको थियो । एनबी समूह अन्तर्गतका कम्पनीले अघिल्लो वर्ष झन्डै २५ लाख कित्ता शेयर बिक्री गरेको थियो ।
एनसीसी बैंकमा विगतदेखिनै निर्माल प्रधान र एनबि ग्रुपका लक्ष्मीबहादुर, जीतबहादुर प्रधानबीच विवाद हुँदै आएको थियो । अहिले सो बैंकमा निर्मल प्रधान पक्षको उपस्थिति बलियो भएपछि एनबी समूहले आफ्नो शेयरहिस्सा कम गर्दै गएको छ ।
४ लाख ७७ हजार कित्ता शेयर लिलामीमा
बैंकमा शेयरहिस्सा घटाउने क्रममा जीतबहादुर श्रेष्ठले आफू र एनबि इन्भेष्टमेन्टसहित ७ जनाको नाममा रहेको ४ लाख ७७ हजार कित्ता शेयर लिलामीमा राखेका छन् । श्रेष्ठको आफ्नै नाममा ५० हजार कित्ता शेयर रहेको छ ।
त्यस्तै, जश श्रेष्ठको नामको ५० हजार कित्ता, बिनु श्रेष्ठको ८५ हजार कित्ता, लीलाबहादुर गुरुङको ८८ हजार कित्ता, अच्युतबहादुर हाडाको १९ हजार ४ सय ३६ कित्ता र तनुजा जोशी हाडाको १९ हजार ४ सय ३६ कित्ता रहेको छ ।


विविका तिमल्सिना
