काठमाडौं । काठमाडौं निजगढ फास्ट ट्रयाक निर्माणको दोस्रो चरणको काम निजगढबाट सुरु हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजनाको निर्माण अब अन्तिम विन्दुबाट सुरु गर्न लागिएको हो ।
यसअघि ललितपुरको खोकनालाई शुन्य किलोमिटर र निजगढलाई अन्तिम विन्दु मानेर काम सुरु गरिएको थियो । तर, खोकनामा जग्गा मआब्जासम्बन्धी विवाद नटुंगिएपछि निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस्तो जिम्मा लिएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले उपत्यकातर्फ जग्गाको मुआब्जा समस्या समाधान हुन नसकेको अवस्थामा शुन्य किलोमिटरबाट सुरु गर्दा समस्या देखिएको बताए । निजगढ तर्फबाट कामलाई अगाडि बढाउन भने अहिले कुनै समस्या नपर्ने उनको भनाई छ ।
खोकनाको जग्गा विवादकै कारण आयोजनाको अरु काममा भने अवरोध नहुने प्रवक्ता पौडेलले बताए ।आगामी आर्थिक वर्षदेखि निजगढतर्फबाट नै सुरु हुनेछ । अहिले सो मार्गको ७२.५ किलोमिटर लम्बाइमध्ये ४२ किलोमिटर सडक कालोपत्रे गर्न तयारी अवस्थामा छ । ११ वटा क्लस्टर बनाएर सेनाले अहिले काम गरिरहेको छ ।
खोकना क्षेत्रमा करिब साढे चार सय रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी नै छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनाएर काम अगाडि बढाइए पनि खोकनाको मुआब्जा विवाद हल हुन सकेको छैन । सो आयोजना काठमाडौं र तराई जोड्ने सबैभन्दा छोटो सडक हो ।