images
images

सबै पूर्वअध्यक्षको समर्थन मलाई छ, उहाँहरुको चाहनामै मैले उम्मेदवारी दिएको हुँ

विनय बस्नेत, अध्यक्षाका उम्मेदवार, नाट्टा


  • 980
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    सबै पूर्वअध्यक्षको समर्थन मलाई छ, उहाँहरुको चाहनामै मैले उम्मेदवारी दिएको हुँ

    नेपाल एशोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यसमितिका लागि बिहीबार मतदान हुँदैछ । नयाँ कार्यकालका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनय बस्नेत र वर्तमान उपाध्यक्ष रमेश थापा अध्यक्षका प्रत्यासी छन् । उनीहरु दुवैले नयाँ नेतृत्वका लागि प्यानलसहित आफ्नो उम्मेदवारी दिएका छन् । 

    यही क्रममा अध्यक्षका प्रत्यासी उम्मेदवार विनय बस्नेतसँग नेपालअर्थले अध्यक्षमा दिएको उम्मेदवारी, जित्ने आधार र निर्वाचित भएको अवस्थामा गर्ने कामका सम्बन्धमा छोटो कुराकानी गरेको छ । 

    नेपाल एशोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाइँको उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

    म नाट्टाको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छु । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको अध्यक्ष बन्ने हाम्रो अग्रजदेखिकै परम्परा हो । विगतको अभ्यासलाई आधार मान्दै पूर्व अध्यक्षज्यूहरुको चाहनामा मैले नयाँ कार्यकालको अध्यक्षको लागि उम्मेदवारी दिएको हुँ ।  मेरो उम्मेदवारीको प्रमुख कारण यही हो । 

    पूर्व अध्यक्षको चाहना अनुसार नै मैले नयाँ कार्यकालमा सर्वसम्मत गर्ने प्रयास पनि गरेको हुँ । तर यो सफल हुन सकेन । तर, व्यवसायिक रुपमा अघि बढ्ने संस्थामा पार्टीगत ढंगबाट अघि बढ्ने प्रयास भएपछि  संस्थाको गैरराजनीतिक छवीलाई कायमै राख्न मैले उम्मेदवारी दिनैपर्ने अवस्था बनेको हो ।

    मैले सम्पुर्ण विशुद्ध व्यवसायीको प्रतिनिधित्व हुनेगरी टीम बनाएको छु । आगामी दिनहरुमा सबैको साझा एजेण्डालाई सम्बोधन गर्ने र अहिलेको २ वर्षको कार्यकालको यो च्यालेन्जलाई स्वीकार गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेको छु । 

    अहिलेसम्म वरिष्ठ उपाध्यक्षमा रहेर यो कार्यकालमा र नाट्टामा अहिले गर्नुभएका समग्र काम र यसको उपलब्धि के कस्ता छन् ? 

    कोभिडको बेलामा सबै व्यवसायी साथीहरू प्यानिक भएर के हुन्छ, कसो हुन्छ भनिरहेको बेलामा पनि हामीले बाहिर फिल्डमा आएर काम गयौँ । नेपाल सरकार पर्यटन मन्त्रालयका सचिवज्यू मन्त्रीज्यूसँग गर्ने छलफलहरुमा वरिष्ठ उपाध्यक्षको रुपमा मैले नै नेतृत्व गरिरहेको हुन्छु । 

    वर्तमान कार्यकालमा मैले इन्टरनेशनल र डोमेस्टिक क्षेत्र जिम्मेवारी पाएको थिएँ । सो जिम्मेवारी अनुसार इन्टरनेशनल क्षेत्र अन्तर्गत श्रीलंका, बंगलादेश, स्पेन लगायत देशमा प्रोमोसनका कामहरु गरेँ । आन्तरिक पर्यटन प्रर्वद्धनका लागि नाटा प्रदेशसँग सहकार्य गरेर धेरै काम गरेको छु । 

    ती कार्यहरुलाई अबको आगामी दिनहरुमा त्यसैलाई निरन्तरता दिने र यो व्यापक रुपमा पर्यटन प्रर्वद्धनमा केन्द्रित भएर जाने मेरो उद्देश्य हो । 

    नाट्टाको अध्यक्षका लागि तपाइँलाई मतदाताले विश्वास गर्ने आधार चाहिँ के हो ? 

    पछिल्लो २४ वर्ष देखि यसमा आवद्ध भएको छु । म कार्यसमितिमा रहँदा वा नरहँदा पनि यो संस्थालाई सहयोग गरेको छु । आफूले पाएका जिम्मेवारीलाई जिम्मेवारीलाई पुरा गरेको छु । मेरो कार्यकालको समयमा गरेको कामहरु सम्पुर्ण पर्यटन व्यवसायी साथीहरुले हेर्नुभएको, बुझ्नुभएको छ ।  

    त्यसबाहेक म अन्य संघ संस्थामा पनि आवद्ध भएको छु । म यहाँ काम सिक्न भन्दा पनि काम गरेर देखाउन आएको हुँ । विभिन्न संघ संस्थामा महत्वपूर्ण  जिम्मेवारी प्राप्त गरिसकेका हुनाले अनुभवी नेतृत्वको रुपमा आगामी नेतृत्वका लागि मलाई मतदाताले विश्वाास गर्नुहुनेछ भन्ने विश्वास छ । 

    त्यस्तै मैले पूर्ण व्यवसायिक टीम निर्माण गरेको छु । मैले निर्माण गरेको टीमलाई विश्वास गरेर साथीहरुले हाीलाई थप विश्वास गर्ने आधार बनेको छ । 

    तपाइँले जित्ने विश्वास गर्दैगर्दा वर्तमान अध्यक्ष समेत तपाइँको समर्थनमा हुनुहुन्न । अर्का आकांक्षीले पनि तपाइँलाई तपाइँको प्रतिस्पर्धीलाई समर्थन दिएर उम्मेदवारी फिर्ता लिनुभयो । चुनौती थपिएजस्तो लाग्दैन ?

    चुनौती त मैले स्वीकार गरिसकेको छु । मेरो विपक्षीको अहिलेको अध्यक्षको कुरा गर्दा पछिल्लो २६ महिनामा उहाँलाई सफल बनाउन कसरी कति काम गरियो भन्ने कुरा उहाहरुलाई अवगत नै छ । मैले संस्था र उहाँको नेतृत्व लाई स्वीकार गरेर अगाडि बढेको मान्छे हो ।

    तपाइँले सहयोग गर्दागर्दै पनि वर्तमान अध्यक्ष तटस्थ समेत नबसेर तपाइँको विपक्षीलाई समर्थन गर्ने अवस्था कसरी आयो त ? 

    त्यसको उत्तर त उहाँले नै दिने हो । मेरो बुझाइमा उहाँको समर्थन मलाई छ भन्ने नै हो । यदि तपाइँले भन्नुभएजस्तो उहाँ विपक्षीकै प्यानललाई सहयोग गर्नुभएको छ भने उहाँ राजनीतिक रुपमा अघि बढ्नुभएको छ । 
     
    पर्यटन क्षेत्र गैरराजनीतिक क्षेत्रमा पनि लोकतान्त्रिक समूह, प्रगतिशील समुह भनेरे विभाजन हुने यो पद्धतिलाई चाहिँ कसरी हेर्नुहुन्छ ? 

    राजनीतिक आस्था सबैको हुन्छ तर, व्यवसायिक टीममा यो देखिनु हुँदैन । मेरो कुरा गर्नुहुन्छ भने म विशुद्ध व्यवसायिक रुपमा नाट्टामा क्रियाशील रहँदै आएको छु । आजसम्म कुनै पनि काममा मेरो तर्फबाट यो संस्थामा राजनीतिकरण भएको छैन र गर्न दिएको पनि छैन ।

    यो क्रममा मैले विभिन्न अवरोधको सामना समेत गरेको छु । यो संगठनको व्यवसायिकताको लागि भोलिका दिनमा पनि यसका लागि म निरन्तर लागिरहनेछु । पुर्वअध्यक्षहरुको ठूलो समूह छ जसले नाट्टालाई पुर्ण व्यवसायिक बनाउनुपर्छ भन्नुभएको छ । उहाँहरुको मान्यता अनुसार संस्थालाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छु । त्यसैले उहाँहरुले मलाइ समर्थन गर्नुभएको छ ।  

    तपाँइलाई खुलेर समर्थन पुर्वअध्यक्ष को–को हुनुहुन्छ ?

    मैले सम्मानित गनुपर्ने पूर्वअध्यक्षहरुलाई मैले अहिले नाम तोकेर विवादित बनाउन चाहन्न । पर्यटन मन्त्रालय गठन नहँुँदै यसको महत्व बुझेर आजभन्दा ५५ वर्ष अगाडि संस्था स्थापना गरेका अग्रजहरुलाई विवादमा ल्याउने कुरा म अध्यक्ष उठ्दा वा नउठ्दाखेरि पनि गर्नु हुँदैन भन्नेमा म दृढ छु । 

    अग्रजहरुको चाहान यो संस्था विशुद्ध व्यवसायिक हुनुपर्छ र त्यस्तै नेतृत्व आउनुपर्छ भन्ने छ । र, त्यो मान्छे म हुँ  । यसको अर्थ मेरो पछाडि सम्पुर्ण पूर्वअध्यक्षहरु हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ । 

    ४४९ जना मतदातामध्ये कतिजनाले समर्थन गनुहुन्छ जस्तो लाग्छ ? 

    म त विशुद्ध व्यवसायिक रुपमा आएको छु । मैले वरिष्ठ अध्यक्ष हुदाँखेरि मैले मेरो कार्यक्षमता, मेरो नेटवर्कको हिसाबले मैले भोलि संस्थाको प्रतिनिधिको रुपमा सरकार र विदेशी संस्थासमेतसँग बसेर सहकार्य गर्नसक्ने कुरामा सबै मतदाता मप्रति विश्वस्त हुनुहुन्छ भन्ने लाग्छ । त्यसैले सबै उम्मेदवार मेरो पषमा हुनुहुन्छ भन्ने हो । 

    तर, प्यानल नै बनेर दुई पक्ष भएपछि सबै भोट नआउला  । कति आउँछ भनेर मैले अहिले बोल्नुभन्दा त्यसको जिम्मा मतदाता साथीहरुलाई नै छाड्नु उपयुक्त होला ।

    binaya basnet team.jpeg

     

     


    images

    Logo