काठमाडौं । म्याग्दी र मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको सडक दैनिक ९ घण्टा बन्द हुने भएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न भन्दै बेनीदेखि जोमसोमसम्मको सडक बन्द गर्न लागिएको हो ।
आयोजनाका अनुसार बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द हुनेछ । आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवका अनुसार म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो । अरु ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्नसक्ने उनले बताए ।
यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन् । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।
काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा–गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ बाट निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।
आयोजनाले जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको जनाएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।