काठमाडाैं । श्रीभक्त कासीछवा भक्तपुरका स्थानीय समाजसेवी र व्यवसायी हुन् । चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका उनी जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष तथा नागरिक कम्युनिटी अस्पतालका सञ्चालक समेत हुन् । उनले विगत ३० वर्षदेखि समाजसेवाको क्षेत्रमा काम गर्दै आएका छन् ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनमा राजनीतिक दलले सक्षम र योग्य उम्मेद्वार दिनुपर्ने पक्षमा उनी छन् । राजनीतिक दलबाट अयोग्य उम्मेद्वार उठाए आफैँ मेयरमा उम्मेदवारी दिने उनको तयारी छ ।
यीनै सेरोफेरोमा केन्द्रित भएर कासीछवासँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
तपाई समाजसेवामा लागिरहनुभएको छ । यो क्षेत्रमा तपाइँले अहिलेसम्म गरेका उल्लेखनीय कामहरु के के हुन् ?
सर्वप्रथम नयाँ वर्षको सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीलाई नमस्कार भन्न चाहन्छु । म ३० वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छु । यो अवधिमा मैले मेरो क्षमताले भ्याएसम्म व्यक्तिगत र सामुहिक रुपमा समाजसेवाको काम गर्दै आएको छु ।
चाँगुनारायण नगरपालिकाको कुरा गर्ने हो भने मैले सुरुमै एम्बुलेन्स खरिद गरेर स्वास्थ्य क्षेत्रमा योगदान गर्ने पहल गरेँ । त्यसमा मैले व्यक्तिगत रुपमा ठूलो रकम सहयोग गरेँ । अरु व्यक्तिसँग पनि सहयोग जुटाएर हामीले त्यो काम पूरा गर्यौं ।
त्यसअघि २०७२ साल वैशाख १२ गते भुकम्प जाँदा त्यसको भोलिपल्टै राहत वितरण र मेडिकल क्याम्पको व्यवस्था गरियो । गम्भीर अवस्थामा रहेका बिरामीलाई म आफैं सञ्चालक रहेको नागरिक सामुदायिक अस्पतालमा लगेर उपचार गर्ने व्यवस्था गरेँ ।
चाँगुनारायण नगरपालिकाका वासिन्दालाई मैले नागरिक कम्युनिटी अस्पतालबाट १५ प्रतिशत छुटको व्यवस्था गर्दै आएको छु । कोभिडको समयमा चाँगुनारायण नगरपालिकाभित्र कोभिड भएका बिरामी र बिरामी कुरुवालाई समेत खाना खुवाउने व्यवस्था गरेँ । कतिपय बिरामीलाई बाहिर पठाएर उपचार गर्ने व्यवस्थाका लागि समेत पहल गरेँ ।
मैले भक्तपुरमा बसेर जनताका नियमित समस्याको समाधान गर्ने प्रयास गर्दै आएको छु । खेलकुद, उद्योग वाणिज्य र बालबालिकाको क्षेत्रमा पनि उल्लेख्य काम गरेको छु ।
अनाथ र बालबालिकाको संरक्षण र शिक्षाका लागि तपाइँको पहल देखिन्छ, यसमा के के काम गर्नुभयो ?
हामीले भक्तपुरको चौखेलमा सुमित्रा (चौलागाइँ) बहिनीले सुरु गरेको मानव कल्याण घरमार्फत् संक्षक्षण र स्वास्थ्य उपचारको काम गर्ने गरेका छौं । त्यो संस्थाले सडक मानवदेखि अनाथ र बालबालिकालाई उद्दार गर्ने गरेको छ । हामीले संस्था सञ्चालनका लागि व्यक्तिगत सहयोग गर्ने र सहयोग जुटाउन सहयोग गर्ने काम गरेका छौं ।
त्यहाँ रहेका बालबालिकालाई नागरिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत गरेका छौं । यतिमात्र नभएर मानव कल्याण घरकै दाङ शाखाको लागि ११ लाख रुपैयाँ संकलन गरेका छौं ।
तपाइँ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पनि बन्नुभयो । तपाइँको नेतृत्वमा खेलकुद क्षेत्रले के के पायो ?
मैले भक्तपुर जिल्लाको खेलकुद विकासका लागि धेरै काम गरेँ । म अध्यक्ष हुँदा र नहुँदा पनि यो क्षेत्रको विकासको लागि काम गर्दै आएको छु । म आफैं पनि खेलाडी र खेलकुद शिक्षक भएका कारण यो क्षेत्रको विकास मेरो प्राथमिकतामा पर्छ ।
मैले समितिको कार्यालय र खेल मैदानलाई व्यवस्थित बनाउन पहल गरेँ । अहिले चाँगुनारायण वडा नम्बर ४ मा रणवीर मल्टिप्रपोजको रङ्गशाला बनाउन सुरुआत गरेका छौं । त्यसमा प्रदेश सांसद प्रतिमा श्रेष्ठबाट ३५ लाख र नगरपालिकाबाट ५५ लाख लिएर निर्माण सुरु गरिएको छ ।
चागुँनारायण नगरपालिकालाई खेलकुदको हब बनाउने मेरो उद्देश्य हो । यसका लागि खेलकुदको तालिम केन्द्र सञ्चालन गर्ने योजनालाई अघि बढाउन समेत मैले पहल गरिरहेको छु । भलिबलको राष्ट्रिय कोचको भवन बनाउन चागुनारायण नगरपालिका वडा नम्बर ४ मै एकसय रोपनी जग्गा ग्रहण गर्ने प्रक्रिया समेत अघि बढिसकेको छ ।
तपाई त चाँगुनारायण उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्छ, उद्योग वाणिज्यको क्षेत्रमा के काम गर्दै हुनुहुन्छ ?
उद्योग वाणिज्य संघको अध्यक्ष भएको तीन महिना मात्र भएको छ । अहिले संघले यो क्षेत्रको उद्योग व्यवसायको विकास विस्तार कसरी गर्न सकिन्छ भनेर योजना बनाउँदैछ ।
यसमा मैले संघको कार्यालय व्यवस्थापनको लागि भवन निर्माण गर्ने, संघमा आवद्ध सदस्यको हक हितका लागि काम गर्ने र यो क्षेत्रभित्र उद्योग व्यवसाय विस्तारका लागि के के गर्न सकिन्छ भनेर छलफल गर्दैछु ।
हाम्रो उद्देश्य भनेको यो क्षेत्रमा रोजगारी वृद्धि हुने क्षेत्रमा उद्योग व्यवसाय विस्तार गर्ने नै हो । यसका लागि हामीले काम गरिरहेका छौं ।
सरकारले तपाईलाई गत बर्ष मात्रै प्रबद्ध जनसेवा श्री दिएकोको थियो, त्यो दिने कारण चाँहि के हो ?
मैले अहिले सम्म भक्तपुर जिल्लामा एउटा नमुनाको रुपमा समाजिक कामहरु गर्दै आको छु तपाईहरुले प्रस्ट बुझनु भाको छ । मैले हस्पिटल लाइन देखि खेलकुद तथा समाजिक रुपमा कसैले केही पर्दा हरेक क्षेत्रमा कामहरु सेवाहरु गरिराको छु तपाईको यहाँ नेताले नगरेको काम गरेको छु ,भक्तपुर जिल्लामा रोजगारी दिएको छु अहिले महिले समाजिक काम गरेको २० औँ भइसक्यो त्यसकारणले गर्दा मलाई यो पदक सरकारले व्यक्ति चिनेर दिनुभयो ।
राजनीतिक सक्रियता पनि बढाउनुभएको छ, तपाइँको राजनीतिक लक्ष्य कहाँसम्म हो ?
राजनीति पनि समाजसेवा गर्ने एउटा माध्यम नै हो । राजनीतिक सक्रियता र सार्वजनिक पदले समाजसेवाको दायरालाई अझै फराकिलो बनाउन सक्छ भन्ने मलाइ लाग्छ ।
अहिलेसम्म मैले सरकारी स्रोतबिना नै समाजसेवा गरेँ । राजनीतिमा शक्ति नभए पनि मेरो व्यक्तिगत प्रयासबाटै अहिलेसम्म चाँगुनारायण नगरपालिकामा नेताले भन्दा राम्रो काम गरेको छु ।
मसँग यसको भिजन पनि छ । म अहिले जनताको अभिमत बुझ्दैछु । जनताले मेरो नेतृत्व चाहेको पाएँ भने म जनप्रतिनिधि बनेर जनताको सेवा गर्ने सोच बनाएको छु ।
बैशाख ३० गते स्थानीय तहको निवार्चन हुँदैछ, यो चुनावमा उठ्ने विचार गर्न लाग्नुभएको हो ?
म विचार गर्दैछु । आगामी चुनावमा मतदाताको अपेक्षा पूरा गर्ने नेता राजनीतिक दलले नदिएमा मैले जनप्रतिनिधिमा खाबी गर्ने अवस्था आउन सक्छ । मेरो घर चाँगुनारायणमा नगरपालिकामा रहेको र म त्यही नगरपालिकाको मतदाता भएका कारण त्यहाँको जनताको राय अनुसार म नगरप्रमुखमा उम्मेदवारी दिने सोच बनाएको छु । यसमा जनताले दिने सुझाव अनुसार म अघि बढ्छु ।
तपाइँ नगर प्रमुख हुनुभयो भने के के योजना छ ?
म चाँगुनारायण नगरपालिकाको मेयर बन्न सकेँ भने स्वास्थ्य र शिक्षा क्षेत्रमा तत्कालै ५० प्रतिशत छुट दिने व्यवस्था गराउँछु । अहिलेसम्म चाँगुनारायणमा ठूला उद्योगहरु छैनन् । त्यहाँ उद्योग खोलेर रोजगारीको अवसर दिलाउँछु । ५ वर्षमा एउटा वडामा कम्तीमा १ सय गरी नगरपालिकाभित्र १ हजार जनालाई रोजगारी दिने उद्योग खोल्न सक्छु ।
त्यसबाहेक चाँगुनारायणमा नगरपालिकालाई खेलकुद र पर्यटनको हब बनाउनेगरी योजनाहरु अघि बढाउँछु ।
चुनाव लड्ने पार्टी कुन हो ? त्यो पार्टीले तपाइँलाई टिकट दिने आधार चै के छ ?
पार्टीको हिसाबले म एमाले हो । तर, मेरो चुनाव जित्ने मुख्य आधार भनेको मैले विगतमा जनताको लागि गरेको सेवा र चाँगुनारायणवासीसँग म परिचित हुनु नै हो । मेरो प्रयास एमालेबाटै चुवानको टिकट लिने हुन्छ । होइन भने पार्टीहरुले उठाएका उम्मेदवारलाई हेर्छु । उनीहरुसँग आफ्नो भोटिङ गराउँछु । जनताले मलाई बढी रुचाए भने स्वतन्त्र रुपमै भने पनि उम्मेदवारी दिन्छु ।
चाँगुनारायणका जनतालाई कुन नेताले कति काम गरेका छन् भन्ने पनि थाहा छ, श्रीभक्तले कति काम गरेको छ भन्ने पनि थाहा छ । कसको कस्तो भिजन छ भन्ने पनि थाहा छ । कसले बोल्छ र कसले काम गर्छ भन्ने पनि थाहा छ । म बोल्ने भन्दा काम गर्ने व्यक्ति हुँ । त्यसैले जनताले मलाइ रुचाउँछन् ।
राजनीतिक दलको टिकटबिना उम्मेदवारले बिरलै मात्र चुनाव जित्छन्, तपाइँले स्वतन्त्र रुपमै कसरी जित्न सक्नुहुन्छ ?
मैले अघि पनि भनेँ । मैले गरेको सामाजिक कामकै कारणले जनताले मलाइ पत्याउँछन् । म चुनौतीका साथ भन्न सक्छु कि मैले कुनै नेताले भन्दा कम काम मैले गरेको छैन । हाम्रा नेतासँग प्रशासनको खरिदारसम्मको फोन नम्बर नि हुँदैन । उनीहरुले जनतालाई केही समस्या पर्यो भने समाधान गर्न सक्दैनन् । मैले ३० वर्षदेखि जनताका हरेक समस्यासँग जुधेर त्यसलाई समाधान गर्ने काम गर्दै आएको छु ।
म मजदूरदेखि लिएर व्यवसायीसम्म भएको व्यक्ति हुँ । खेलाडीदेखि लगेर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष बन्न सफल भएको छु । अहिलेसम्मको काम गतिविधि हेरेर जनताले सबैकुरा बुझेका छन् । खेलकुद ग्रेम गराउन आफ्नो जग्गा अर्कोको नाममा धितोमा राखेर खेलकुद जितेर भएर मेरै नाममा भक्तपुरमा व्याडमिन्टन कोच छ । खेलक्षेत्रमा व्याडमिन्टन दखि लगेर मैले एक क्षेत्रमा मात्र होइन हस्पिटल, स्कुल होटल लाइन दखि लिगेर हरेका हेरेका छु । मैले एक ठाउमा मात्रै होइन सबै ठाउँमा सहयोग गरेको छु ।
अहिले भक्तपुरका ७० प्रतिशत जनताले मलाई राम्रोसँग चिन्नुहुन्छ । उहाँले श्रीभक्तले के गर्छ, के गर्दैन भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ । उहाँहरुले मलाई विश्वास गर्न सक्नुहुन्छ । यही कारण म निर्वाचनमा स्वतन्त्र रुपमा उठेपनि म जिन्छु भन्नेमा विश्वस्त छु ।
५ वर्षमा चाँगुनारायण नगरपालिकाकमा भएका कामलाई चाहिँ कसरी मुल्याङ्कन गर्नुभएको छ ?
यो समयमा चाँगुनारायण नगरपालिकामा केही कामहरु भएका छन् । तर, जति जनताले चाहेका छन् त्यति काम हुन सकेको छैन ।
अहिलेको अवस्थामा यहाँको आवश्यकता भनेको रोजगारीको वृद्धि हो । त्यसमा यहाँ केही हुन सकेको छैन । पूर्वाधार विकास पनि आवश्यकता अनुसार हुन सकेका छैनन् । तिनै कामहरु गर्न नै मैले आफू जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता महशुस गरेको हुँ ।


