काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत वुटवल पाल्पा खण्डको सिद्धबाबा पर्वतमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढेको छ । सडक विभागले सो सुरुङमार्ग निर्माणका लागि आइतबार टेन्डर आह्वान गरेको हो ।
यो सुुरुङमार्ग दुई लेनको हुनेछ भने लम्बाइ ११ सय २७ मिटरको हुनेछ । सो सुरुङमार्गमा अरु ३ वटा सहायक सुरुङमार्ग समेत निर्माण हुनेछन् । सुरुङमार्ग निर्माण गर्ने कम्पनीले सुरुङमार्गको सञ्चालनपछिको ५ वर्षसम्मको मर्मतको जिम्मा समेत लिनुपर्नेछ ।
यो बोलपत्रमा सहभागी हुने कम्पनीसँग सम्बन्धित १० वर्षको अनुभव भइ ३ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ । कम्पनीले कम्तीमा १ हजार मिटरका ३ सुरुङमार्ग निर्माण गरिसकेको हुनुपर्ने समेत बोलपत्रमा उल्लेख गरिएको छ ।