images
images

अहिलेका मेयरसा'ब शासक बन्न खोज्नुभयो, हामी सेवक बन्न आएका छाैं : सुरेन्द्र श्रेष्ठ


  • 548
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    अहिलेका मेयरसा'ब शासक बन्न खोज्नुभयो, हामी सेवक बन्न आएका छाैं : सुरेन्द्र श्रेष्ठ

    सुरेन्द्र श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट मध्यपुर थिमि नगरपालिकामा नगर प्रमुख (मेयर) का उम्मेदवार हुन् । सो नगरपालिकामा अप्हिले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । 

    अघिल्लोपटकको चुनावमा मेयरमा अहिले नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी भएको सो नगरपालिकामा अहिले पनि एमालेले उनैलाई मेयरको उम्मेदवार बनाएको छ । यस्तो अवस्थामा काँग्रेसले चुनावी तयारीलाई कसरी अघि बढाइरहेको छ त ? यीनै सन्दर्भमा केन्द्रित भइ उम्मेदवार श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । 

    मध्पुर थिमि नगरपालिकाको नगर प्रमुखको लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ, तपाइँले चुनावी प्रचार प्रसारलाई कसरी अगाडि बढाउनुभएको छ ?

    अहिले प्रचार प्रसार गठबन्धनको तर्फबाट गणेश दाइको नेतृत्वमा प्रचार प्रसार समिति गठन भएको छ । त्यही अन्तर्गत ९ वटा वडामा बिहान घरदैलो अभियान चलाइरहेका छौं । बेलुका चाहिँ हामीले सबै वडाहरुमा कोण सभा गरिरहेका छौं र दिउँसो सबैसँग भेटघाट कार्यक्रम गरिरहेका छौं । 

    गठबन्धनका दलहरु पनि सहभागी छन् कि तपाइँ पार्टीको तर्फबाट मात्रै प्रचार प्रसारमा लागिरहनुभएको छ ?

    अहिले मध्यपुर थिमिले ५ दलले गठबन्धन भनेपनि माओवादी र काँग्रेसको गठबन्धन भएको अवस्था छ । समाजवादीसँग पनि गठबन्धनको धेरै प्रयास गरियो, तर सफल हुन सकेन । तैपनि प्रमुख र उपप्रमुखमा केन्द्रीय नीति अनुसार उहाँहरुले नोमिनेशन गर्नुभएको छैन । त्यसकारण उहाँहरुले प्रमुख र उपप्रमुखमा चाहिँ हामीलाई नै मत दिन उहाँहरु तयार हुनुहुन्छ । 

    तपाइँहरुलाइ यो गठबन्धनले सजिलो भएको छ कि अप्ठ्यारो ?

    मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रस गढकै रुपमा चिनिन्छ । विगतमा प्रमुख पदको लागि नेपाली काँग्रेसका विरुद्ध नेमकिपा, राप्रपा र माओवादीले गठबन्धन गरेको थियो । त्यसो हुँदा हुँदै पनि हाम्रा दुइतिहाइ सदस्यहरु निर्वाचित भएका थिए । हाम्रो गढ हुँदाहुँदै पनि यसपटक चाहिँ नेकपा माओवादीको पनि अलि राम्रो उपस्थिति देखिएको छ । घरदैलो कार्यक्रममा पनि उहाँहरुको राम्रो उपस्थिति देखिएकाले पनि यसपालि गठबन्धनको जित सुनिश्चित छ भन्ने विश्वास लिएका छौं । 

    तपाइँले मुख्य प्रतिस्पर्धी कसलाई मान्नुभएको छ ?  तपाइँले जित्ने आधार चाहिँ के के हुन् ?

    यो नगरपालिकामा हामीले २०५४ सालको निर्वाचनमै अत्यधिक महुमतका साथ विजय हासिल गरेका थियौं । त्यो समयदेखि नै मध्यपुर थिमि नगरपालिका काँग्रेको आधार इलाकाको रुपमा रहेको छ । प्राविधिक कारणले २०७४ सालको निर्वाचनमा हाम्रो नेतृत्व आउन सकेन । तर, यो अवधिमा निर्वाचित नेतृत्वले जसरी काम गर्यो, त्यसबाट जनता सन्तुष्ट हुन सकेका छैनन् ।

    हाम्रो मुख्य प्रतिस्पर्धी भनेको नेकपा एमालेका उम्मेदवार नै हो । तर, नेकपा एमालेले अघिल्लोपटकको मेयरलाई नै फेरि उम्मेदवार बनाएको छ । अघिल्लो कार्यैकालमै अपेक्षाअनुसार काम गर्न नसकेका मेयरलाई जनताले फेरि दोहोर्याएर भोट हाल्दैनन् भन्ने हाम्रो बुझाइ हो । हामीले घरदैलो कार्यक्रममा जाँदाखेरी पनि यहाँका मतदाताहरुले हामीसँग यस्तै गुनासो गरेको पाएका छौं । 

    नेपाली काँग्रेसको विकासमुखी पार्टी हो । जुन सोचका साथ हामीले प्रतिज्ञा पत्र र घोषणापत्र बनाएका छौँ, हामी त्यसलाई मार्गदर्शनको रुपमा लिएर काम गर्छौं । अघिल्लो मेयरसाब जनताको सेवक भन्दा शासकको रुपमा प्रस्तुत हुनुभयो । यसपालि हामी सेवकको रुपमा प्रस्तुत हुने मतदातालाई जानकारी गराएको छौँ । अहिले जुन उत्साहका साथ घरदैलो कार्यक्रम  सञ्चालन भएरहेको छ यसलाइ हेर्दा पनि हामीले जित्ने निश्चित भएको छ । 

    तपाइँहरु नगर प्रमुखको प्रतिस्पर्धी कति जना हुनुहुन्छ त ?

    सुरुमा दर्ता गर्दा प्रमुखमा १४ जना थिए । तर अहिले हाम्रो प्रमुख प्रतिस्पर्धी भनेको नेकपा एमालेसँग मात्रै हो । अरु खासै कुनै प्रतिस्पर्धी दल छैनन् । तर राप्रपा नेमकिपा लगायत अरु साना दलले पनि यहाँ मेयरका लागि उम्मेदवारी दिएका छन् ।

    तरपनि अधिकांश नेमकिपा र राप्रपाका साथीहरुले पनि यस पटक चाहिँ नेतृत्व परिवर्तन गनुपर्छ गठबन्धनलाई नै जिताउनुपर्छ भन्ने कुराहरु आइरहेको छ । 

    surendra_1.jpeg

    तपाइँ नेपाली काँग्रेसको मध्यपुर नगर सभापति पनि भइसक्नुभयो, युवालाई काँग्रेसमा आकर्षित गर्न चाहिँ के के गर्नुभएको छ ?

    भक्तपुर जिल्ला नेपालकै सबैभन्दा शिक्षित जनसंख्या भएको जिल्लामा पर्छ । त्यसमध्ये पनि मध्यपुर थिमि भक्तपुरकै शिक्षित नगरमा पर्छ । मुलुककै शैक्षिक हवको रुपमा समेत मध्यपुर थिमि परिचित  छ । जनक शिक्षा सामाग्री केन्द्रदेखि, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सीटीईभीटीदेखि लगायत धेरै शैक्षिक हवहरु यहाँ छन् । तर, यसको फाइदा मध्यपुरवासीले धेलै लिन नसकेको अवस्था छ । हामीले पहल गर्ने हो भने यसबाट हजारौंको संख्यामा रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्न सक्छौं । 

    विगतको ५ वर्ष नेतृत्वमा भूमिका खेल्नेले ती विषयमा कुनै कार्यक्रम अगाडि सारेन त्यसकारणले हामीले यो युवा स्वरोजगारको विषयमा धेरै सोच बनाएका छौं । यो हामीले ५ वर्षमा होइन कि पहिलो वर्षमा हामीले स्वरोजगारको विषयमा धेरै नै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु ।

    २०७४ सालमा मेयरमा पराजित भएतापनि उपमेयर लगायत दुइतिहाइ सिट तपाइँहरुले जित्नु भएको थियो । त्यो समयमा के के कामहरु गर्नुभयो ? 

    तपाइँले भन्नुभएजस्तै मध्यपुर थिमि नगरपालिकाको कार्यपालिकामा हाम्रो बहुमत थियो । १९ मध्ये १५ जना कार्यपालिका सदस्यहरु हाम्रो हुनुहुन्थ्यो । तर, मेयर भने हामीसँग थिएन । नगरपालिकामा मेयर प्रत्यक्ष निर्वाचित हुने भएकोले मेयरको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । तर, मुख्य पद नहुँदा हाम्रो उपस्थितिले सोचे अनुसार काम हुन सकेन । 

    नगरपालिका नेतृत्वले हामीले सोचेअनुसारको बजेट र योजनाहरु ल्याएन, यद्यपि हामीले विकासका कामलाई रोक्नुहुँदैन भने। बजेटहरु समयमै स्वीकृत गरायौं । हामीले हरेक नगर परिषदमा विकास बजेट बाटफाँट गरेर अघि बढ्यौं । तर, परिषद सकिएपछि मेयर सा’व  एक्लो ढङ्गले अगाडि बढ्नुभयो । उहाँले अरु कोही छैन जस्तो गरेर हिँड्नुभयो । हामीले ६ वटा वडा जित्दै गर्दा हामीले धेरैवटा कामहरु अगाडि बढाएका थियौं । 

    पुरातात्विक सम्पदाहरको संरक्षण लगायत कार्यमा हामीले दिएको साथ र समर्थनको कारणले जुन उपलब्धि हासिल भयो, यो प्रशंसायोग्य भएका छन् । यी उपलब्धिहरु हासिल गर्न हाम्रो ठूलो संघर्ष यर्गौं । यसमा नेतृत्व कुशल भएको भए थप उपलब्धि हुन सक्थ्यो, त्यसमा भने हामी चुक्यौं । 

    तपाँइको नगरपालिकामा अहिले भएका समस्याहरु के के हुन् ? 

    मुख्य समस्या भनेको अहिले शिक्षा, स्वास्थ्य, खानेपानी र ढल निकासको रहेको छ । त्यसका साथै फोहोरमैला व्यवस्थापन पनि ठुलो चुनौतीको रुपमा रहेको छ । यहाँका ४/५ वटा जग्गा एकीकरण आयोजनाहरु स्रोत साधन हुदाँपनि ५ वर्षमा अघि बढ्न सकेन । नेतृत्वले राम्रो भुमिका नखेल्दाखेरी कमेरेटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि जस्ताको तस्तै रहेको छ । यहाँ स्रोत साधन तथा बजेट हुँदाहुँदै पनि यहाँ काम हुन सकेको छैन । 

    यहाँ भएका समस्यालाइ समाधान गर्न तपाइँले कस्तो खालको योजनाहरु बनाउनु भएको छ ?

    यहाँ अहिले निजी र सामुदायिक विद्यालयबीच ठूलो अन्तर छ । मध्यपुर थिमीबाट दिनको सयौँ गाडी काठमाडौ, भक्तपुर, ललितपुर गइरहेका छन् । यहाँ सम्पूर्ण साधन स्रोतले भरिपूर्ण सामुदायिक विद्यालयमा समेत रुचि देखिएको छैन । किनभने हामीले गुणस्तरीय शिक्षा दिनसक्छौं भनेर जनतालाई आश्वस्त पार्न सकेका छैनौं । 

    हामीले सामुदायिक स्कुलको गुणस्तर सुधारलाई मुख्य प्राथामिकतामा राखेका छौं । निजी स्कुललाई पनि शिक्षा ऐन बनाएर नियमन गर्ने योजना बनाएका छौं । 

    स्वास्थ्य क्षेत्रमा धेरै आमुल परिवर्तनका कुराहरु रहेका छन् । ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई हामीले निःशुल्क बीमा गर्ने पनि कार्यक्रमहरु ल्याएका छौं । र प्रत्येक वडामा एउटा स्वास्थ्य केन्द्र र एउटा डाक्टर राखेर प्रत्येक महिनाको २ पटक जेष्ठ जागरिकहरुलाइ निःशुल्क स्वास्थ्य सेवा दिने भनेर हामीले घोषणा पत्रमा उल्लेख गरेका छौं । 

    पार्टीको घोषणपत्र बाहेक स्थानीय प्राथामिकतामा चाहिँ के के राख्नुभएको छ ?

    मध्यपुर अहिले आधुनिक शहरको रुपमा विकास भइरहेको छ । यहाँ आधुनिक शहरमा बस्ने र पहिलेदेखि नै बस्दै आएका बस्तीलाई भेदविभेद नगरी सबैलाई ‘हामी मध्यपुरवासी हौं’ भन्ने एउटा गौरवशाली ठाउँ बनाउने कार्यक्रम बनाउने योजना बनाएका छौं । यी कुराहरु हामीले स्थानीय घोषणापत्रमा राखेका छौं । 

    यहाँ खानेपानीको ढल निकास समस्याको पनि कुरा पनि आइरहेको छ । सबैभन्दा ठुलो समस्या नै खानेपानी र ढल निकास रहेकोले यी समस्या समाधान गर्ने विषय पनि हामीले घोषणापत्रमा मुख्य रुपमा उठाएका छौं । 

    surendra_3.jpeg

    नगर प्रमुखका लागि आकांक्षी धेरै हुँदाहुँदै पनि तपाइँले पार्टीको टिकट पाउनुभयो, अन्य आकांक्षीलाई पनि समेटेर कसरी अघि बढ्नुहुन्छ ? 

    उम्मेदवारी दर्ता गराउँदै जाँदा पार्टीले सबैभन्दा कान्छो उम्मेदवारको रुपमा पार्टीले हामीलाई टिकट दिएको छ । ३० वर्षदेखि निरन्तर नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील रहेको २०५४ सालमा मध्यपुर थिमिको नगरपालिका १४ नम्वर वडाको नगर समिति सदस्य भएको थिएँ ।  

    विद्यार्थी आन्दोलनमा पनि धेरै कलेजहरुमा चुनाव पनि लडिसकेको र पार्टीको जिम्मेवार पनि पाइसकेको हुनाले मलाइ स्वीकार्न पार्टीका नेताले मेयरको रुपमा सहज रुपमा स्वीकार गर्नुभएको छ । 

    तपाइँको प्रतिस्पर्धीमा आफ्नै ज्वाइँ हुनुहुन्छ । आफ्नै नातेदारसँग प्रतिस्पर्धा गर्नुपर्दा सजिलो भएको छ कि अप्ठ्यारो ?

    राजनीतीमा ज्वाइँ जेठानको कुरा आउँदैन । किनभने हिजो वीपी कोइराला पनि नेतृत्वदायी भुमिका खेल्दै गर्दा वीपीलाइ जेल हालेर आफ्नै दाइ प्रधानमन्त्री भएका थिए । त्यसकारणले राजनीतीमा विचारसँग लड्ने हो । ज्वाइँ जेठान भनेको घर भित्रको मात्रै कुरा हो । त्यसैले यसलाई राजनीतीमा तुलना गर्न सकिँदैन । 

    अहिलेसम्मको अवस्था हेर्दा तपाइँको मत कति आउँछ भन्ने आकलन गर्नु भएको छ ?

    कति मत आउँछ भन्दा पनि हामी निश्चित रुपमा हामी जित्छौं भन्ने छ । हामीमात्रै होइन, गठबन्धनमा रहेका सबै उम्मेदवारले जित्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास रहेको छ ।


    images

    Logo